आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशतमात्रै

आइतबार, जेठ ६ २०८१
सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशतमात्रै

गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ रूपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो।

दमौली- तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरयो। व्यास-३ देउरालीनगर र ऋषिङ-१ झापुटार जोड्ने पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो।

सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेका हुन्थे। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काम अलपत्र अवस्थामा छ। उक्त पुलको काम हालसम्म २५ प्रतिशत मात्रै रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। सम्झौताको अवधिमा विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो।

यस वर्ष बजेट सकिएकाले काम रोकिएको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए। उनले भने, 'चालु आर्थिक वर्षमा केही काम भएको थियो, तर अहिले पैसा पनि सकियो, काम रोकिएको छ।'

चालु आर्थिक वर्षमा अब काम नहुने र वर्षा सकिएलगत्तै काम सञ्चालन गरिने आचार्यको भनाइ छ। आचार्यका अनुसार वर्षा सकिएलगत्तै स्टिलको काम सुरु गर्ने तयारी छ। हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको आचार्यले बताए।

गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ रूपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो। पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौंसँग सम्झौता भएको थियो। कार्यालय प्रमुख आचार्यका अनुसार हालसम्म आठ करोड रूपैयाँ बजेट निकासा भएको छ।

एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ नौ दशमलव ५० मिटर रहनेछ। पाइल फाउण्डेसनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ। पुल निर्माणपछि व्यास र ऋषिङका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ।

हाल सोही ठाउँमा झोलुंगे पुल रहेको छ। त्यसको करिब एक किलोमिटर माथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ। त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किलोमिटर दुरी तय गर्नुपर्छ। अहिले पुल निर्माण भइरहेको ठाउँबाट दमौली आउन पाँच सय मिटर दुरी पनि छैन।

त्यहाँ हाल रहेको झोलुंगे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि केही वर्ष पहिला जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गरेको थियो। उक्त आदेश पूर्णरुपमा पालन भएको छैन। हाल यहाँका सर्वसाधारणले झोलुंगे पुलबाट नै दुईपाङ्ग्रे सवारीसाधन वारपार गर्दै आएको स्थानीय दीपक थापाले बताए।

झोलुंगे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ। साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको उनको भनाइ छ। स्थानीयले वर्षौँदेखि सेती नदीमाथि पक्की पुलको माग गर्दै आएका थिए। काम सुरु हुँदा खुसी भएका यहाँका बासिन्दा अहिले कामले गति नलिँदा निराश छन्। लामो समयदेखि पुलको माग संघीयता आएपछि गठन भएको प्रदेश सरकारले सम्बोधन गरेको थियो। रासस


प्रकाशित : आइतबार, जेठ ६ २०८११४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend