आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

दिक्तेल-खानीडाँडा-आहाले सडक : ठेक्का लागेको ६ वर्षपछि कालोपत्र सुरु

शनिबार, जेठ ५ २०८१
दिक्तेल-खानीडाँडा-आहाले सडक : ठेक्का लागेको ६ वर्षपछि कालोपत्र सुरु

सडकको नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी ढलान, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र हुनेछ।

खोटाङ- कालोपत्रको ठेक्का लिएको ६ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ।

सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक्थुङहाङ-साप-सिरुवा जेभीले विसं २०७५ असोज १ गते ठेक्का लिएको थियो।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भ्याटसहित २१ करोड एक लाख ८८ हजार रूपैयाँमा सम्पन्न गर्नेगरी १० दशमलव ९७४ किलोमिटर सडकखण्ड कालोपत्रको ठेक्का लगाएको थियो। मूल ठेकेदारसँग सम्झौता गरी यसअघि दुईवटा ठेकेदार कम्पनीले पेटी ठेक्का लिएर अलपत्र छाडेका थिए। हाल बाँकी काम गर्ने जिम्मा श्रीनिक बिल्डर्स प्रालिले लिएको छ।

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने उक्त सडक अहिले धमाधम कालोपत्र भइरहेको स्थानीयवासी सन्तोष पौडेलले जानकारी दिए। ढिलै भए पनि सडक कालोपत्र हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन्।

सुरुमा राम्चे निर्माण सेवा कम्पनीका कल्याण दाहाललाई प्रतिनिधि राखेको ठेकेदार कम्पनीले दोस्रोपटक खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिका खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको थियो। दाहाल र राईले काम नगरेपछि अहिले श्रीनिक बिल्डर्स प्रालिका प्रोप्राइटर भैरव बस्नेतलाई जिम्मा दिइएको याक्थुङहाङ-साप-सिरुवा जेभीले जनाएको छ।

कालोपत्र भइरहेको दिक्तेल-खानीडाँडा-आहाले सडक यही जेठ मसान्तमा सम्पन्न गरेर असार पहिलो साताभित्र प्राधिकरणलाई हस्तान्तरण गर्नेगरी काम भइरहेको प्रोप्राइटर बस्नेतले बताए।

'अघिल्लो ठेकेदार कम्पनीले नाली, साइड ड्रेन, ग्राभेल, बेस तथा सब–बेसलगायत अधिकांश भौतिक संरचनाका काम सम्पन्न गरेको भनेर भुक्तानी लिएका रहेछन्। ती कामहरु अहिले पुनः गर्नुपर्‍यो। हामीले जिम्मा लिएको काम तोकिएको समयमा सम्पन्न गर्ने तयारी छ', उनले भने, 'अहिले दक्ष जनशक्तिसहित ७० जना कामदार खटिएका छन्। जेठ मसान्तभित्र कालोपत्रको सबै काम सकिन्छ।'

अघिल्लो दुईवटा ठेकेदार कम्पनीका प्रतिनिधिले प्राधिकरणबाट १३ करोड ६९ लाख पाँच सय ३८ रूपैयाँ भुक्तानी लिइसकेका छन्। बाँकी कालोपत्र सम्पन्न गर्न श्रीनिक बिल्डर्स प्रालिले सात करोड २२ लाख तीन हजार चार सय ३५ रूपैयाँमा पेटी ठेक्का लिएको हो।

सडकको नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी ढलान, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र हुनेछ। १८ महिनाभित्र सम्पन्न गर्ने भनिएको सो सडक विसं २०७५ मङ्सिर १ गते तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका थिए।

निर्माणमा ठेकेदारको चरम लापरबाही भएपछि प्राधिकरणले विसं २०७६ पुस ९ गते लिखितरुपमा पत्राचार गरी काम रोक्न निर्देशन दिएको थियो। माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन बालुवा/गिट्टी घोलेर प्रयोग भइरहेको गुनासो आएपछि निर्माण रोकिएको थियो। रासस


प्रकाशित : शनिबार, जेठ ५ २०८११६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend