सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सम्झौता भएको दुई वर्षपछि सुरु भयो राहुघाट जलविद्युतको काम

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ७ २०७८
सम्झौता भएको दुई वर्षपछि सुरु भयो राहुघाट जलविद्युतको काम

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदारले काम सुरु गरेको छ।

सम्झौता भएको दुई वर्षपछि भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले काम सुरु गरेको हो। चालीस मेगावाट क्षमताको राहुघाटको विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता गरेको थियो।

आयोजना प्रमुख राजबहादुर विष्टले भेलले विद्युत् गृहमा अर्थिङ गरेर आयोजनास्थलमा काम सुरु गरेको जानकारी दिए। 'सिभिल ठेकेदारले विद्युत् गृहको पूर्वाधार बनाउन थालेसँगै इलेक्ट्रोमेकानिकल ठेकेदार पनि आयोजनास्थलमा परिचालित भएको छ,'उनले भने,'आयोजना व्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताले समन्वय गरेर विद्युत् गृह निर्माणलाई तीव्रता दिएका छौँ।'

इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता अवधि ३६ महिनाको हो। भेल भारतको सरकारी निर्माण कम्पनी हो। विद्युत्गृहभित्रका उपकरण र स्वीचार्डका उपकरण आपूर्ति, ढुवानी र जडानको ठेक्का लिएको भेलले डिजाइन तयार पारिसकेको जनाएको छ। सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सले बेनी-जोमसोम सडकको छेउमापर्ने रघुगङ्गा गाउँपालिका-३ को तिल्केनीचौरमा विद्युत् गृह निर्माण सुरु गरेको छ।

प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा विसं २०७३ मा स्थापना भएको लिमिटेडसँग विसं २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्चसाफ्ट र चार वटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) को ब्रेक थ्रु गरेको कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। पैतालीस महिनाको म्याद सकिएपछि प्राकृतिक विपद र कोरोनाको महामारीलाई कारण देखाएर एकवर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ।

पावरहाउसदेखि दग्नाम र झिङ्को सिमानामापर्ने बाँध सम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । बुग्लस्थित रघुगङ्गा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरेको छ। छ किलोमिटर २०० मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार १८० मिटर निर्माण सकिएको छ। 

पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङको ब्रेक थ्रु भएर १७० मिटर गहिरो प्रेसर साफ्ट निर्माण सुरु भएको छ। अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरेको थियो। 

सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो। रासस


प्रकाशित : बुधबार, पुस ७ २०७८०७:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend