आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

८ करोड लागतको बंक-नाइल सडकसँगै पुल निर्माण पनि सुस्त

बुधबार, जेठ २ २०८१
८ करोड लागतको बंक-नाइल सडकसँगै पुल निर्माण पनि सुस्त

सात किमीको पहिलो खण्डमा ट्र्याक खोल्नाका साथै सडकमा अन्य संरचना निर्माण भए पनि कालोपत्र गर्ने विषय अझै अन्यौल बनेको छ।

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजनामा पर्ने कञ्चनपुरको बंक-नाइल-बुडर सडकखण्डमा निर्माणले गति लिन सकेको छैन।

सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईसँग जोड्ने उद्देश्यले निर्माण थालिएको उक्त खण्डका लागि बर्सेनि बजेट आउने गरे पनि निर्माण कम्पनीको लापरबाहीका कारण कार्यप्रगतिमा ढिलाइ हुँदै गएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बंकबाट (शून्य बिन्दु) सात किलोमिटर सडक कालोपत्रका लागि विसं २०७७ साउनमा सम्झौता भए पनि अझै काम सुरुवातसम्म हुन सकेको छैन। सात किमीको पहिलो खण्डमा ट्र्याक खोल्नाका साथै सडकमा अन्य संरचना निर्माण भए पनि कालोपत्र गर्ने विषय अझै अन्यौल बनेको छ।

महेन्द्रनगरस्थित पूर्वाधार विकास कार्यालयका इन्जिनियर हेमराज भट्टले बंकबाट पहरियासम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको बताए। 'ट्र्याक खोल्नेदेखि अहिले कालोपत्रका लागि सबबेस बिछ्याउने कामसम्म भएको छ', उनले भने, 'तर कालोपत्र भने हुन सकेको छैन।' उनले करौँडाका योजना भए पनि बजेट अभाव हुँदा निर्माण ढिलाइ भएको बताए।

'यो वर्ष सडक निर्माणका लागि एक करोड रूपैयाँमात्रै बजेट विनियोजन भएको छ', इन्जिनियर भट्टले भने, 'बजेट बराबर निर्माण कम्पनीले काम गरिसकेका छन्। म्याद थपको विषयले भुक्तानी भने भएको छैन।'

उक्त खण्डमा निर्माणका लागि गत आर्थिक वर्षमा ७५ लाख रूपैयाँ प्रदेश सरकारले विनियोजन गरेको थियो। आठ करोड २८ लाख ५६ हजार रूपैयाँको लागतमा सन्तोषी-थेगिम जेभीले उक्त सडक निर्माणको जिम्मा पाएको थियो।

केही वर्षअघि नाइल (कञ्चनपुर-डोटी सिमाना) ट्र्याक भने खोलिसकेको इन्जिनियर भट्टले जानकारी दिए। सडक निर्माण समयमा पूरा गर्नुपर्ने भन्दै कृष्णपुरवासीले आन्दोलन गर्दै आएका छन्।

कृष्णपुर नगरपालिका-२ बाणीका स्थानीय सुरेन्द्र बमले बंक-नाइल-बुडर सडक अलपत्र पारिएको आरोप लगाए। 'ट्र्याक खोलेको चार वर्ष हुँदा अहिलेसम्म एक किमी सडक कालोपत्र हुन सकेको छैन', उनले भने, 'कच्ची सडकमा बर्खामा स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।'

बंकबाट नाइलसम्म २१ किमीअन्तर्गत पहिलो प्याकेजमा सात किमीको कालोपत्र गर्ने ठेक्काबाहेक अरू अलपत्र पारिएको उनको भनाइ छ। 'सडक निर्माणको चर्चा धेरै भए पनि कार्यान्वयन नहुँदा स्थानीयले बर्सातमा सास्ती खेप्नुपरेको छ', बमले भने, 'नाइल क्षेत्र आफैमा धार्मिक एवं पर्यटकीय क्षेत्र भए पनि अलपत्र सडकले झन ओझेलमा परेको छ।'

पहाडी जिल्ला जोड्ने छोटो दूरीको नाइल सडक निर्माणमा बेवास्ता हुँदै आएको कृष्णपुर-२ का वडाध्यक्ष अर्जुन साउँदले बताए। 'बुडर, जोगबुढालगायत क्षेत्र पुग्न यो बाटोमा एउटा भिरसम्म पर्दैन', उनले भने, 'धेरै सम्भावना बोकेको सडक निर्माणमा कसैको चासो भएन।' उक्त खण्डमा पर्ने ओदाल खोलामा ६५ मिटर लम्बाइको पक्की पुल बनाउने ठेक्का भएको पनि छ वर्ष भइसकेको उनले जानकारी दिए।

निर्माण कम्पनीको लापरबाहीले पुल निर्माण लामो समयसम्म अलपत्र परेको थियो। हाल उक्त पुल निर्माण भइरहेको वडाध्यक्ष साउँदले जानकारी दिए। विसं २०७४ मा थेगिम-जाल्भा जेभीसित पाँच करोड ४७ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकृत इन्जिनियर तारानाथ सिग्देलले जानकारी दिए।

'१८ महिनामा सक्नुपर्ने पुलको अहिले ७० प्रतिशत भौतिक प्रगति भएको छ', उनले भने, 'पुल निर्माणमा बेवास्ता गर्दा निर्माण कम्पनीलाई जरिवाना समेत गरियो।' उनले आगामी असोजसम्म पुल सम्पन्न हुने बताए। रासस


प्रकाशित : बुधबार, जेठ २ २०८११५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend