आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भरतपुरको ६ लेन सडक निर्माण अन्तिम चरणमा

बुधबार, जेठ २ २०८१
भरतपुरको ६ लेन सडक निर्माण अन्तिम चरणमा

सडकको केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङ्सम्म कालोपत्र सकिएको छ। बसपार्कबाट पुल्चोकसम्म केही ठाउँमा दोस्रो र अधिकांश ठाउँमा कालोपत्रको अन्तिम तह बाँकी छ।

चितवन- भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक-गोन्द्राङ् ६ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ। चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो। 

सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षमा पाँच करोड रूपैयाँमात्र बजेट विनियोजन भएको थियो। थप २० करोड रूपैयाँ बजेट निकासा गरेर काम गरिएको उनले जानकारी दिए।

सडकको केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङ्सम्म कालोपत्र सकिएको छ। बसपार्कबाट पुल्चोकसम्म केही ठाउँमा दोस्रो र अधिकांश ठाउँमा कालोपत्रको अन्तिम तह बाँकी छ।

फुटपाथ, सर्भिसलेन, हरियालीका काम, सडक बत्तीलगायतका काम भइरहेको छ। कालोपत्र मात्र बाँकी रहेकाले धेरै समय नलाग्ने उनले जानकारी दिए। भरतपुर महानगरपालिकाले सहरी क्षेत्रको सडक छिटो सम्पन्न गर्न बजेट निकासाको पहल  गरेको थियो। उनले भने, 'अब बजेटको अभाव हुँदैन। निर्माण कम्पनीले तीव्र रुपमा काम गर्नुपर्‍यो।'

विसं. २०७७ असोज २७ गते सम्झौता भइ निर्माण सुरु भएको सो सडक खण्डको भदौसम्मका लागि दोस्रो पटक म्याद थपिएको छ। निर्माणको काम इन्डो सगुन जेभीले  गरिरहेको छ। कम्पनीले एक अर्ब सात करोड रूपैयाँ भुक्तानी प्राप्त गरिसकेको छ।

चालु आवमा पनि २५ करोड रूपैयाँ हाराहारी कम्पनीलाई भुक्तानी गरिएको उनले जानकारी दिए। सुरुको ठेक्का रकम एक अर्ब २३ करोड रूपैयाँ रहेकामा मूल्य वृद्धिका कारण रकम बढ्ने छ। पौडेलका अनुसार काम सम्पन्न गर्न अझै २५ करोड रूपैयाँ आवश्यक पर्छ। यो सडक छ दशमलव ०८ किलोमिटर लामो छ।
 
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहरी क्षेत्रको सडकका लागि चालु आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएकामा सम्बन्धित निकायमा अनुरोध गरेर बजेट निकासा गराएको बताए। महानगरपालिकाले घोषणा गरेको भ्रमण वर्ष सन् २०२४ यही सडकका  कारण तोकिएको समयमा उद्घाटन हुन सकेको थिएन।

प्रमुख दाहालले भने, 'बजेटका कारण काम हुन नसकेपछि  प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री, सचिव लगायतलाई पटक-पटक अनुरोध गरेपछि काम भएको हो।' रासस


प्रकाशित : बुधबार, जेठ २ २०८१११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend