आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

ट्रयाक खुलेको ३६ वर्षपछि स्वाँरा-नारेश्वर सडक कालोपत्र

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ३१ २०८१
ट्रयाक खुलेको ३६ वर्षपछि स्वाँरा-नारेश्वर सडक कालोपत्र

स्थानीय कृषिउपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुुवानीमा सहज भएको स्थानीयले बताएका छन्।

गोरखा- गोरखा नगरपालिकाको मानेपानीदेखि स्वाँरा-नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने सडक ट्रयाक खुलेको झण्डै ३६ वर्षपछि कालोपत्र भएको छ।

विसं २०४५ मा ट्रयाक खुलेको १० किलोमिटर सडकखण्डमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर दीपक बस्नेतले जानकारी दिए।

नारेश्वर-निवेल-ताकुुकोट सडक आयोजनाको पहिलो खण्डमा पर्ने सो सडकखण्ड कालोपत्रका लागि २५ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। विसं २०७६ मा उक्त सडकखण्ड कालोपत्र गर्न कार्यालयले रौताह-पिके-गोरखा जेभीसँग सम्झौता गरेको उनले बताए।

सम्झौताअनुसार दुई वर्षअघि नै उक्त सडकखण्ड कालोपत्रको काम भइसक्नुपर्ने भए पनि ढिलोगरी काम सम्पन्न भएको इञ्जिनियर बस्नेतले बताए। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले विनियोजन गरेको बजेटमार्फत सडक कालोपत्र गरिएको उनको भनाइ छ।

बर्खाका बेला हिलाम्य र हिउँका बेला धुलाम्य हुने सडक कालोपत्र भएपछि स्थानीयलाई आवतजावतमा सजिलो भएको छ।

सडक कालोपत्र भएपछि यात्रा अवधि पनि छोटिएको, यात्रा सहज, सुरक्षित भएको, हिलो र धुुलोबाट मुक्ति मिलेको गोरखा-३ नारेश्वरका स्थानीय कुमार थापाले बताए।

त्यस्तै स्थानीय कृषिउपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुुवानीमा सहज भएको स्थानीयले बताएका छन्। रासस


प्रकाशित : सोमबार, वैशाख ३१ २०८११३:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend