शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २९ २०८१
रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित

'तनहुँखण्डमा रहेका सामुदायिक वनसँगको समन्वयमा काम अगाडि बढेको बढेको थियो तर चितवनखण्डमा ठूला सालका रूख कटान गर्नुपर्ने भएकाले वनले जोखिम बहन र सहजीकरण गर्न नसकेपछि काम प्रभावित भएको छ',

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको विद्युत प्रसारणलाइन निर्माण कार्य प्रभावित भएको छ। 

प्याकेज-३ अन्तर्गत प्रसारणलाइन क्षेत्रमा पर्ने रूख कटान गर्न सरकारले स्वीकृति दिए पनि स्थानीय वनसँग कुरा नमिल्दा प्रसारणलाइन निर्माणको काम प्रभावित भएका आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। 

प्याकेज-३ अन्तर्गत चितवनखण्डमा समस्या देखिएको र विवाद कायमै रहेकाले १८ वटा विद्युत टावर ठड्याउने काम अगाडि बढ्न नसकेका उनको भनाइ छ।

'तनहुँखण्डमा रहेका सामुदायिक वनसँगको समन्वयमा काम अगाडि बढेको बढेको थियो तर चितवनखण्डमा ठूला सालका रूख कटान गर्नुपर्ने भएकाले वनले जोखिम बहन र सहजीकरण गर्न नसकेपछि काम प्रभावित भएको छ', श्रेष्ठले भने। 

हाल दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबलसर्किट प्रसारणलाइन प्याकेज-३ अन्र्तगत ३४ दशमलव ७ किलोमिटर दूरीमा प्रसारणलाइनको काम भइरहेको छ। सो कार्य गर्ने ठेक्का केइसी इन्टरनेशनल लिमिटेड, भारतले पाएको छ तर सम्झौताअनुसारको म्याद गुज्रिसकेको छ।

यो खण्डमा रहेका कुल ९४ टावरमध्ये ७६ टावरको फाउण्डेसन कार्यसम्पन्न भएको र ५६ टावर ठडाइसकिएको छ। सो प्याकेजको समग्र निर्माण प्रगति ७३ प्रतिशत रहेको जनाइएको छ। 

श्रेष्ठका अनुसार प्याकेज-१ मा ३५, प्याकेज-२ मा ५५ प्रतिशत र समग्रमा आयोजनाको ५५ प्रतिशत कार्यसम्पन्न भएको छ। रासस 


प्रकाशित : शनिबार, वैशाख २९ २०८११८:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend