आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

धनगढी-उरै भञ्ज्याङ त्रिदेशीय रणनीतिक सडक निर्माण सुस्त गतिमा, ८ वर्षमा २० प्रतिशत प्रगति

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २९ २०८१
धनगढी-उरै भञ्ज्याङ त्रिदेशीय रणनीतिक सडक निर्माण सुस्त गतिमा, ८ वर्षमा २० प्रतिशत प्रगति

आर्थिक वर्ष २०७२/७३ देखि निर्माण थालिएको धनगढीदेखि थलारासम्मको यो सडकको भौतिक प्रगति गएको आठ वर्षमा २० प्रतिशत मात्रै हुन सकेको छ।

सुदूरपश्चिम- त्रिदेशीय रणनीतिक सडकका रुपमा रहेको धनगढीदेखि बझाङको उत्तरी सीमानाका उरै भञ्ज्याङ जोड्ने सडक निर्माण कार्य पर्याप्त बजेटको अभावमा सुस्त भएको छ। पर्याप्त बजेट अभाव हुँदा निर्माणको काम सुस्त गतिमा भइरहेको धनगढी-खुटिया- दिपायल-चैनपुर-उरै भञ्ज्याङ सडक योजना कार्यालयका इन्जिनियर दिनेश रैखालले बताए।

आयोजना कार्यालयले आफ्नो कार्यक्षेत्र धनगढीदेखि बझाङको थलारासम्मको १ सय ८६ किलोमिटर भागमा सडक निर्माण गरिरहेको छ। थलारादेखि उत्तर चीनको सीमा नजिकको उरै भञ्ज्याङ (ताक्लाकोट) सम्मको बाँकी एक सय छ किलोमिटर सडक खण्डमा सेती लोकमार्ग आयोजनाअन्तर्गत निर्माणको काम भइरहेको बताइएको छ।

आर्थिक वर्ष २०७२/७३ देखि निर्माण थालिएको धनगढीदेखि थलारासम्मको यो सडकको भौतिक प्रगति गएको आठ वर्षमा २० प्रतिशत मात्रै हुन सकेको छ।

सुरुका दुई वर्ष प्रदेश सरकार मातहत रहेको यो सडक योजना विसं २०७६ देखि सङ्घीय सरकार मातहत ल्याइएको थियो। आयोजनाअन्तर्गत डोटी जिल्लामा नौ किलोमिटर र कैलालीमा १३ किलोमिटर कालोपत्रको काम भइसकेको छ। चालु वर्षमा डोटीमा थप १६ किलोमिटर र कैलालीमा थप सात किलोमिटर सडक खण्डमा कालोपत्रको काम भइरहेको छ।

यो सडकअन्तर्गत बझाङको थलारासम्म ‘सिङ्गल ट्र्याक’ खोलिसकिएको भए पनि डोटी खण्डमा ४० किमी र बझाङ खण्डमा २९ किमी सडकलाई ‘डबल लेन’ बनाउन बाँकी छ।

'यो सडकका लागि चालु वर्षमा २५ करोड र त्यसपछि थप पाँच करोड विनियोजन गरिएको थियो,' इन्जिनियर रैखालले भने, 'विनियोजित बजेट निर्माण कम्पनीलाई भुक्तानी दिँदैमा सकियो, थप भुक्तानी दिन  चार करोड अपुग भएको छ।'

सरकारको प्राथमिकता प्राप्त सडक योजना भएर पनि अहिलेकै हिसाबले कम बजेट विनियोजन हुँदै गएमा धनगढीदेखि दीपायलसम्मको खण्डमा कालोपत्रको काम पूरा गर्न अझैँ छ/सात वर्ष लाग्ने बताइएको छ।

सेती अञ्चलको तराईको जिल्ला कैलालीदेखि उत्तरी हिमाली जिल्ला बझाङको उरै भञ्ज्याङ नाकालाई उत्तर-दक्षिण भएर जोड्ने भएकाले यो सडक रणनीतिक महत्व पनि छ। धनगढीदेखि डडेलधुरा र बैतडीको खोड्पे हुँदै बझाङको सदरमुकाम चैनपुर पुग्ने हालको सडकको वैकल्पिक सडकका रुपमा निर्माणाधीन यो सडक रहेको छ।

चीनको मानसरोवर पुग्नका लागि छोटो मार्गका रुपमा देखिएकाले यो सडक धार्मिक तथा पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिएको छ। सडक निर्माण पूरा हुन सकेमा मानसरोवर आवागमन सहज हुने मात्र नभई सुदूरपश्चिम प्रदेशको समग्र विकासमा केसेढुङ्गा साबित हुने विश्वास गरिएको छ। रासस


प्रकाशित : शनिबार, वैशाख २९ २०८१११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend