बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २८ २०८१
चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ

बसेरी फार्म हाउससमेत यस क्षेत्रको पर्यटक आकर्षण गर्ने अर्को गन्तव्य हो। यस फार्म हाउसमा स्थानीयस्तरमा उत्पादित खानेकुरा खान पाइन्छ।

धादिङ- धादिङको उत्तरी क्षेत्र गंगाजमुना गाउँपालिका-६ भैँसेगाउँका गुरुङ समुदाय होमस्टे (घरबास) र चौँरी घोडा नाचमार्फत पर्यटन प्रवर्द्धनमा जुटेका छन्।

गोरखा जिल्लाको आरुघाट गाउँपालिका-४ आर्खेत बजारबाट सुरु हुने धादिङको गंगाजमुना गाउँपालिकास्थित ‘गंगाजमुना तीनसुरे पदमार्ग’मा सो गाउँपालिकाको वडा नं ६ बसेरीमा भैँसेगाउँ छ।

गुरुङ समुदायको बाहुल्यता रहेको भैँसेगाउँमा पर्यटन प्रवर्द्धन गर्न गंगाजमुना गाउँपालिकाले घरबास निर्माणको काम अगाडि बढाएको छ। गुरुङ जातिको एक सय ५० घरधुरी रहेको भैँसेगाउँमा बसोबास गर्ने धेरै स्थानीय नेपाल, भारत र बेलायती सेनामा कार्यरत छन्।  
      
आफ्नो जागिरे जीवनको अवकाशपछि गाउँमै केही गर्नुपर्छ भन्ने मान्यता बोकेका यहाँका गुरुङ समुदाय आफ्नो गाउँका विकासका लागि लागिपरेका छन्। गाउँपालिका- ६ का वडा सदस्य एवं भैँसे गाउँका स्थानीय धनबहादुर गुरुङले गाउँको पर्यटन विकासका लागि भैँसेगाउँ जुटेको बताए। भैँसेगाउँमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यहिँ उत्पादित स्थानीय खानेकुरा ख्वाइन्छ।
      
गंगाजमुना गाउँपालिका-६ मा एक हजार ७६ घरधुरी छन्। जसमध्ये झण्डै चार सय घरधुरी गुरुङ समुदायको छ। गुरुङबाहेक यस गाउँमा ब्राम्हण, क्षेत्री, घले, नेवार, राईसमेत बसोबास गर्छन्। समुन्द्र सतहदेखि पाँच सय ५० मिटर उचाइमा अवस्थित आर्खेत बजारदेखि दुई हजार नौ सय २० मिटर उचाइमा रहेको तीनसुरे भ्यू प्वाइन्टसम्म यो वडा फैलिएको छ। 
      
प्राकृतिक सम्पदाले धनी रहेको यस वडामा सुन्दर हावापानी, जल, जङ्गल, बाक्लो बस्ती, खेतीयोग्य जमिन रहेको छ। गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल घरबास र पुरानो चौँरी घोडा नाचमार्फत भैँसे गाउँ पर्यटन प्रवर्द्धनमा जुटिरहेको बताउँछन्।    
      
'गंगाजमुना तीनसुरे पदमार्ग’मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको अग्र्यानिक खाद्यान्न र संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि भैँसे गाउँ घरबास निर्माण गरेका हौँ', पर्यटन संयोजक ढकालले भने।
      
भैँसे गाउँमा नेपालकै सबैभन्दा पुरानो माने गुम्बासमेत छ। नेपालकै दोस्रो लामो झोलुङ्गे पुलले यस वडालाई छोएको छ। उक्त पुलको लम्बाइ चार सय २० मिटर र उचाइ तीन सय ५० मिटर रहेको छ। बसेरी फार्म हाउससमेत यस क्षेत्रको पर्यटक आकर्षण गर्ने अर्को गन्तव्य हो। यस फार्म हाउसमा स्थानीयस्तरमा उत्पादित खानेकुरा खान पाइन्छ।
      
यस गाउँपालिकाभित्र भैँसे गाउँमा मात्र नाचिँदै आएको परम्परागत नाच ‘चौँरी घोडा नाच’ यहाँको आकर्षक नाच हो। तिब्बत र नेपालको युद्धपछि तिब्बतलाई नेपालले पराजित गरेपछि उक्त नाच नाच्न थालिएको इतिहास छ। उक्त नाच धादिङको रुविभ्यालीपछि भैँसे गाउँमा नाचिँदै आएको छ। उक्त नाचको संरक्षणमा स्थानीय सरकारले सहयोग गरेको गाउँपालिकाका वडासदस्य नवराज ढकालले जानकारी दिए।   
      
भैँसे होमस्टेदेखि गंगाजमुना तीनसुरे पदमार्ग हिले वन हुँदै बन्दीडाँडा पुगिन्छ। बन्दी डाँडाबाट अदुचेत खर्क, नाङ्गे चौरको वन, गोरखा र धादिङको साँधमा रहेको घुमाउने खोला, धरेन खर्क हुँदै समुन्द्र सतहदेखि दुई हजार नौ सय २० मिटर उचाइमा रहेको ‘तीनसुर भ्यू टावर’ पुग्न सकिन्छ।
      
गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले यहाँ भएका प्रकृति र संस्कृति सम्पदालाई जोगाउँदै सिङ्गो गंगाजमुनाको पर्यटन विकासका लागि गाउँपालिकाले काम गरिरहेको बताए।

'गंगाजमुनाले अगाडि बढाएको पाँच वटा गौरवको आयोजनामध्ये तीन वटा आयोजना पर्यटन क्षेत्रका छन्, गंगाजमुनाले पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ', उनले भने।
     
गंगाजमुनाले वडा नं ६ मा रहेको भैँसे गाउँ र वडा नं ३ मा रहेको अम्बोटे गाउँमा होमस्टे सञ्चालन गरिरहेको छ। होमस्टेमार्फत पर्यटन प्रवर्द्धन गर्नु गाउँपालिकाको प्रमुख लक्ष्य भएको उनको भनाइ छ।
  
यसगाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँपालिकाभित्रको समग्र पर्यटन क्षेत्रको विकासका लागि एक करोडभन्दा बढी रकम विनियोजन गरेको छ। गंगाजमुना गाउँपालिकामा ब्राह्मणको भजन, नेवारको लाखे नाच, लामाको परम्परागत घोडा नाच, गुरुङको घाँटु नाच, मगर, राई, घलेलगायतका परम्परागत संस्कृति अनुभव गर्न पाइन्छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८११५:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend