आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २८ २०८१
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

स्थानीयवासी, पर्यटक र व्यवसायीलाई गाउँपालिकाको केन्द्र र कोरलानाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ।

म्याग्दी- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ। 

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी-जोमसोम-कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ-नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो। 

गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर-चुमजुङ-न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १० दशमलव पाँच किलोमिटर  सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए। 

इमाटोल कन्ट्रक्सनले विसं २०७६ साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना विसं २०७७ फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। पेस्कीबापत लगेको ९७ लाख रुपैयाँ फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायीले गत जेठमा काममा फर्किएर पूर्णता दिएका हुन्।

यो सडकको निर्माण अवधि कोरोना महामारी, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण लम्बिएको निर्माण कम्पनीका प्रतिनिधि सुदीप खड्काले बताए। 

प्रारम्भमा २१ करोड १७ लाखमा ठेक्का सम्झौता भएको सडकको ‘भेरियसन अर्डर’ गर्ने क्रममा लागत बढेर २४ करोड पुगेको छ। हालसम्म १८ करोड भुक्तानी भइसकेको छ। सडकको घुम्ती, ग्रेड सुधार र नाली निर्माणका साथै आठ मिटरका दरले ग्राभेल भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्राविधिक सतिश पनेरुले बताए। 

राष्ट्रिय राजमार्गको विकल्पको साथै धेरै बस्तीलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्वको मानिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताए। स्थानीयवासी, पर्यटक र व्यवसायीलाई गाउँपालिकाको केन्द्र र कोरलानाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ। 

स्तरोन्नतिको क्रममा रहेको चराङ-छोसेर खण्ड जीर्ण भएको र नदीमा मोटरेबल पुुल निर्माण नसकिएकाले कोरलानाका जानेआउने सवारीसाधनले प्रदेश सरकारले बनाएको सडक प्रयोग गरिरहेका छन्। लोमान्थाङबाट पुवा हुँदै चक्रपथको किमलिङ जोड्ने तीन दशमलव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको छ।

यसैगरी न्यानोल-सम्जोङ-छोसेर-चेनुङ जोड्ने अर्को छ दशमव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए। रासस


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८११०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend