आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

ट्रयाक खुलेको १८ वर्षपछि दरवाङ उपल्लो बजारको सडक कालोपत्र

बिहीबार , वैशाख २७ २०८१
ट्रयाक खुलेको १८ वर्षपछि दरवाङ उपल्लो बजारको सडक कालोपत्र

तीव्ररुपमा बस्ती विकास भइरहेको उपल्लो दरवाङमा २०६३ मा स्थानीयवासी र तत्कालीन गाविसको बजेटबाट सडक खोलिएको थियो।

म्याग्दी- जिल्लाको मालिका गाउँपालिका-६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। 

पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी-दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो।

उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताए। 'बर्खामा हिलो र हिउँदमा धुलोले सताएको थियो', उनले भने, 'सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको छ।'

तीव्ररुपमा बस्ती विकास भइरहेको उपल्लो दरवाङमा २०६३ मा स्थानीयवासी र तत्कालीन गाविसको बजेटबाट सडक खोलिएको थियो। यहाँ  एक सय घर छन्। उपल्लो दरवाङको सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा ६५ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। 

गत पुसमा ५८ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको सक्षम निर्माण सेवाले दुई सय ५० मिटर दुरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय मिटरमा पक्की नाली निर्माण गरिसकेको पूर्वाधार विकास कार्यालय म्याग्दीका सव इञ्जिनियर रविन चोखालले बताए।

मालिका गाउँपालिकाले सो सडकमा यसअघि करिब चार सय मिटर पक्की नाली निर्माण गरेको थियो। यसअघि गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय र उपल्लो दरवाङ जोड्ने सडक ढलान गरिएको थियो। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend