आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

पाँच वर्षअघि नै सकिनुपर्ने २५ किमीको चराङ-छोसेर सडकले अझै पाएन पूर्णता

बुधबार, वैशाख २६ २०८१
पाँच वर्षअघि नै सकिनुपर्ने २५ किमीको चराङ-छोसेर सडकले अझै पाएन पूर्णता

विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको छ। सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान छन् स्थानीय।

म्याग्दी- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ-छोसेर खण्डमा सडक निर्माण अधुरो रहेको छ।

पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दुरीको उक्त खण्डको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए। 'विसं २०७३ मा सुरु भएको निर्माणले अझै पूर्णता पाएको छैन', उनले भने, 'पछिल्लो डेढ वर्षयता निर्माण कार्य झनै सुस्त बनेको छ।'

लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट लोमान्थाङ गाउँपालिका-१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न विसं २०७२ मा तामाङ-गौरी-पार्वती-कोशी एन्ड न्यौपाने जेभीले २६ करोडमा ठेक्का लिएको थियो।

धुलोमा गाडी फस्ने, उकालो, साँघुरो ठाउँमा सवारी साधन वारपार गर्न समस्या हुँदै आएको स्थानीय बताउँछन्। चराङमा कुलो र ढलको काम बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ।

अरू ठाउँमा कटिङ र फिनिसिङको काम हुन बाँकी रहेको आयोजना प्रमुख धु्रवकुमार झाले जानकारी दिए। सडक छेउमा अलपत्र छाडिएका निर्माण सामग्रीले आवतजावत गर्न समस्या बनाएको स्थानीयले गुनासो गरेका छन्।

विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ। ११ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरी ग्राभेल गर्ने लक्ष्यसहित आयोजना सञ्चालन भएको हो।

आयोजना प्रमुख झाले निर्माण कम्पनीलाई काममा फर्काउन पत्राचार र मौखिक रुपमा ताकेता गरिएको बताए। 'ठेकेदारले मेसिन मर्मत गरेर केही दिनमै काम सुरु गर्ने प्रतिबद्धतासहित कार्यक्षेत्रमा आएको जानकारी गराएका छन्', उनले भने, 'चालु आर्थिक वर्षभित्र नै काम सम्पन्न गराउन ताकेता गरिरहेका छौँ।'

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने एक सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी-जोमसोम-कोरला सडक आयोजनाले विसं २०७३/७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो।

जोमसोम-कोरला सडकको छ वटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको छ।

उक्त सडक स्तरोन्नतिका लागि दुई अर्ब छ करोड रूपैयाँ बजेट विनियोजन भएको थियो। जोमसोम-ताङ्वे १८ किलोमिटर बज्रगुरु खड्गकृष्ण जेभी, ताङ्वेबाट चैलेसम्म ११ किलोमिटर दिवाडाँफे एपेक्स जेभी, चैलेबाट भेनासम्म ११ किलोमिटर कान्छाराम कोसी एण्ड न्यौपाने जेभी र भेनाबाट झैतेसम्म १२ किलोमिटर सडक कञ्चनजंघा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका छन्।

झैते-चराङ १९ किलोमिटर कञ्चनजंघा-लामा-मोतिदान जेभी र छोसेर-कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा-एपेक्स जेभी कन्स्ट्रक्सनले लिएका थिए। रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८११३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend