आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

२४ करोड खर्चेर चीनसँग सीमा जोडिएको लोमान्थाङमा बनाइयो चक्रपथ [भिडियो]

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २६ २०८१
२४ करोड खर्चेर चीनसँग सीमा जोडिएको लोमान्थाङमा बनाइयो चक्रपथ [भिडियो]

स्थानीयबासी, पर्यटक र व्यवसायीहरुलाई गाउँपालिकाको केन्द्र र कोरला नाका आवत जावतका साथै ढुवानी र निकासीमा सहज भएको छ।

म्याग्दी- चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा चक्रपथ निर्माण भएको छ। 

लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने यो सडक बेनी-जोमसोम-कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ-नेचुङ खण्डको वैकल्पिक हो। 

गण्डकी पद्रेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ चक्रपथको १०.५ किलोमिटर स्तरोन्नति भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका इञ्जिनियर सतिश पनेरुले बताएका छन्। 

गाउँपालिकाको केन्द्र लोमान्थाङदेखि ढिङ्गर-चुमजुङ-न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ।

इमाटोल कन्ट्रक्सनले वि.स. २०७६ साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना वि.स. २०७७ फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। पेस्किबापत लगेको ९७ लाख रुपैयाँ फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रीया अघि बढाएपछि निर्माण व्यवसायीले गत जेठमा काममा फर्किएर पूर्णता दिएका हुन्। 

२१ करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडकको भेरियसन अर्डर गर्ने क्रममा लागत बढेर २४ करोड रुपैयाँ पुगेको छ। हालसम्म १८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। सडकको घुम्ति, ग्रेड सुधार र नाली निर्माणका साथै आठ मिटरका दरले ग्राभेल भएको छ। 

राष्ट्रिय राजमार्गको विकल्पको साथै धेरै वस्तिहरुलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्वको मानिएको छ। स्थानीयबासी, पर्यटक र व्यवसायीहरुलाई गाउँपालिकाको केन्द्र र कोरला नाका आवत जावतका साथै ढुवानी र निकासीमा सहज भएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८११२:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend