आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सुनकोशी मरिण डाइभर्सनको १३‍.३ किलोमिटर सुरुङ ‘ब्रेक थ्रु’

बुधबार, वैशाख २६ २०८१
सुनकोशी मरिण डाइभर्सनको १३‍.३ किलोमिटर सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको १३‍.३ किलोमिटर सुरुङ बुधबार छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ‘ब्रेकथ्रु’ गरिएको हो।

प्रधानमन्त्री दाहालले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका हुन्। आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका-२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निकालिएको छ।  

चार वर्षभित्रमा मधेश प्रदेशका ८ जिल्लामध्ये ५ जिल्लामा बाह्रै महिना सिँचाइको सुविधा पुर्‍याउने र ३१.७ मेगावाट बिजुलीसमेत उत्पादन गर्नेगरी ‘सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना’को काम भइरहेको छ। 

सुनकोशी नदीको पानीलाई बाँध बाँधी १३.३ किलोमिटर लामो सुरुङमार्फत ६७ हजार लिटर प्रतिसेकेन्डमा मरिण नदीको किनारमा पुर्‍याइ उपलब्ध ६४ मिटर हेडको सदुपयोग गर्दै विद्युत् उत्पादन गरिनेछ। 

pm marin.jpg

आयोजनका लागि ४६ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको थियो। अब ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ लाग्ने देखिएको छ भने सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएको हो। यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ। सुनकोशी मरिणमा सुरुङ खन्न कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको हो।

पानी मरिण खोलामा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६ हजार ६ सय हेक्टर र ४५ हजार ४ सय हेक्टर गरी जम्मा १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिइएको छ।

sunkoshi marin.jpg

आयोजनाको सुरूङ ‘ब्रेक-थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन सुनकोशी मरिण डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन  


प्रकाशित : बुधबार, वैशाख २६ २०८१११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend