आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मुग्लिन-पोखरा सडक विस्तार : १३ वटा पुल निर्माण सम्पन्न, ११ वटा निर्माणाधीन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २६ २०८१
मुग्लिन-पोखरा सडक विस्तार : १३ वटा पुल निर्माण सम्पन्न, ११ वटा निर्माणाधीन

पूर्वी सडकअन्तर्गत दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीनवटा ठूला पुल निर्माण भइरहेको छ। यस खण्डमा हालसम्म ५७ प्रतिशत कार्यप्रगति भएको छ।

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ। पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन्भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन्।

तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको १३ पुल सम्पन्न भएका छन्भने पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ।  

पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर र पश्चिम खण्डको ३८ दशमलव ८८ किलोमिटर सडकमा निर्माण भइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए।

उनका अनुसार पूर्वी सडकअन्तर्गत दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीनवटा ठूला पुल निर्माण भइरहेको छ। यस खण्डमा हालसम्म ५७ प्रतिशत कार्यप्रगति भएको छ। उक्त खण्डमा हालसम्म १८ किमी चार लेन र ९ किमी दुई लेन सडक कालोपत्र भइसकेको छ।

त्यसैगरी पश्चिम खण्डमा करिब दुई हजार दुई सय विद्युत् पोल हटाउनुपर्नेमध्ये करिब ५० प्रतिशत हटाइएको छ। यो खण्डमा ११ किमी सडक कालोपत्र गरिसकिएको छ।

यस खण्डमा हालसम्म करिब २३ प्रतिशत कार्यप्रगति भइसकेको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए। 'राजमार्गका दायाँ बायाँका विद्युत् पोल हटाउने कार्यलाई तीव्रता दिइएको छ, तनहुँको खैरेनीटारबाट कोत्रेवारिसम्म र कास्कीको कोत्रेपारिदेखि तल्लो गगनगौडासम्म पोल हटाउन बाँकी छ', इन्जिनियर पौडेल जानकारी दिए। रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८११०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend