आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मधेशको १ लाख २२ हजार हेक्टरमा सिँचाइ पुर्‍याउने सुनकोशी-मरिण डाइभर्सनको आज ‘ब्रेकथ्रु’ हुँदै

बुधबार, वैशाख २६ २०८१
मधेशको १ लाख २२ हजार हेक्टरमा सिँचाइ पुर्‍याउने सुनकोशी-मरिण डाइभर्सनको आज ‘ब्रेकथ्रु’ हुँदै

राष्ट्रिय गौरवको ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ निर्माण सम्पन्न भएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइको सुविधा पुग्ने छ।

काठमाडौं- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ सुरुङको आज बुधबार ‘ब्रेकथ्रु’ हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ‘ब्रेकथ्रु’ गर्न लागिएको आयोजनाले जनाएको छ। 

चार वर्षभित्रमा मधेश प्रदेशका ८ जिल्लामध्ये ५ जिल्लामा बाह्रै महिना सिँचाइको सुविधा पुर्‍याउने र ३१.७ मेगावाट बिजुलीसमेत उत्पादन गर्नेगरी ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’को काम धमाधम भइरहेको छ। 

सुनकोशी गाउँपालिका-७ को कानढुंग्रीमा एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालसहितको उपस्थितिमा सुरुङको ‘ब्रेक थ्रु’ गर्न लागिएको आयोजनाका प्रमुख मित्र बरालले बताए।

१३.३ किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ‘ब्रेक थ्रु’ हुन लागेको आयोजना प्रमुख बरालले जानकारी दिए।

आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका-२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ‘ब्रेक थ्रु’ हुने आयोजना प्रमुख बरालले जानकारी दिए।

राष्ट्रिय गौरवको ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ चार वर्षभित्र निर्माण सम्पन्न भएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइको सुविधा पुग्ने छ। 

३१.७ मेगावाटको बिजुलीसमेत उत्पादन हुने आयोजनाले विशेषगरी तराईका ठूला पाँच जिल्लामा सिँचाइका लागि ठूलो महत्व बोकेको छ। जसले धान उत्पादनमा ठूलो फड्को मार्न सकिने अनुमान गरिएको छ। 

मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइ पुर्‍याउनु आयोजनको मुख्य लक्ष्य रहेको छ। १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याउने र देशको कृषि उत्पादन बढाउने सरकारको लक्ष्य छ। १३.३ किलोमिटर सुरुङमार्फत सुनकोशी नदीको पानी मरिन नदीमा पुर्‍याइने छ। अहिलेसम्म १२.५१७ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको आयोजना प्रमुख बराल बताउँछन्। 

सुनकोशी नदीको पानीलाई बाँध बाँधी १३.३ किलोमिटर लामो सुरुङमार्फत ६७ हजार लिटर प्रतिसेकेन्डमा मरिन नदीको किनारमा पुर्‍याइ उपलब्ध ६४ मिटर हेडको सदुपयोग गर्दै विद्युत् उत्पादन गरीने निर्देशक बराल बताउँछन्।

सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएको हो । यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ। सुनकोशी मरिणमा सुरुङ खन्न कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको हो।

पानी मरिन खोलामा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६ हजार ६ सय हेक्टर र ४५ हजार ४ सय हेक्टर गरी जम्मा १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिइएको छ।

आयोजना आर्थिक वर्ष २०८२/८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते यो आयोजना शिलान्यास गरेका थिए। आयोजनाको म्याद थप गरेर २०८५/८६ सम्म पुर्‍याइएको छ।

आयोजनका लागि ४६ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको थियो। अब ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ लाग्ने देखिएको निर्देशक बरालले बताए। 


प्रकाशित : बुधबार, वैशाख २६ २०८१०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend