आइतबार, जेठ ६ गते २०८१    
images
images

पर्यटनको सम्भावना बोकेको ‘गंगाजमुना तीनसुरे पदमार्ग’

images
सोमबार, वैशाख २४ २०८१
images
images
पर्यटनको सम्भावना बोकेको ‘गंगाजमुना तीनसुरे पदमार्ग’

भारतीय सेनामा जागिर खाएर अवकासप्राप्त गुरुङ समुदायका १६ घर परिवार मिलेर दुई वर्षदेखि सञ्चालन गरिएको अम्बोटे ‘होमस्टे’ घुम्नका लागि अहिले धादिङ, चितवन, काठमाडौं, पोखरालगायतका स्थानबाट मानिसहरू आउने गर्दछन्।

images
images

धादिङ- स्वच्छ हावापानी, घना जंगल, चराको चिरबिर आवाज, जंगलभित्र ढकमक्क फुलेका लालीगुँरास, रुख काफल, पाइलैपिच्छे औसेलीका झ्याङ, एकै किसिमका बस्ती, यो दृश्य धादिङको गंगाजमुनामा रहेको ‘गंगाजमुना तीनसुरे पदमार्ग’को हो।

images
images
images

प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्द्धनको अथाह सम्भावना बोकेको गंगाजमुना गाउँपालिकाले ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान) सँगको सहकार्यमा भर्खरै ‘ग्रीन ट्रेकिङ ट्रेल’ का रुपमा ‘गंगाजमुना तीनसुरे पदमार्ग’लाई अगाडि बढाएको छ।

images

मुलुकको संघीय राजधानी काठमाडौंबाट पाँच घण्टाको सडकमार्गबाट पुगिने गंगाजमुना गाउँपालिकाको नाम धार्मिक तीर्थस्थल गंगाजमुना झरना तथा मन्दिरबाट राखिएको हो।

images
images

उक्त झरना तथा मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिनमा ठूलो मेला लाग्ने गर्दछ। कुल सात वडा रहेको गंगाजमुनाले सबै वडालाई समेटेर ‘गंगाजमुना तीनसुरे पदमार्ग’लाई अगाडि बढाएको हो।

images
images

समुन्द्र सतहदेखि ५५० मिटर उचाइमा रहेको गोरखाको आरुघाट गाउँपालिका वडा नं ४ आर्खेत बजारदेखि बुढाथुम-बाथलडाँडा-लामोपुल-बसेरी-भैँसे-तीनसुरे-पोखराडाँडा-री-गुम्दी हुँदै फूलखर्क जोड्ने उक्त पदमार्गलाई गाउँपालिकाले गौरवको योजनाका रुपमा अगाडि बढाएको छ।

गाउँपालिकाभित्र ‘क्यानोनिङ’ गर्नका लागि ठूलाठूला झरना, ‘रक क्वाइबिङ’का लागि ठूलाठूला चट्टानका पहरा, पर्यटक सत्कारका लागि होमस्टे, जीपलाईन, नेपालकै दोस्रो अग्लो र लामो झोलुङ्गेपुललगायतका पर्यटनलाई मनोरन्जन दिने खालका पूर्वाधार रहेका छन्।

गंगाजमुना गाउँपालिकाका पर्यटन विकास समितिका संयोजक एवं वडा नं ६ का वडाअध्यक्ष रमेश ढकाल गोरखाको चुमभ्याली र धादिङको रुविभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्ग ‘गंगाजमुना तीनसुरे पदमार्ग’ भएको बताउँछन्। 'गंगाजमुनाभित्र रहेको प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा र धार्मिक सम्पदामार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि नयाँ पदमार्ग निर्माण गरिएको हो', उनी भन्छन् ।

बूढीगण्डकीको ‘र्‍याफ्टिङ’को मज्जाबाट सुरु गर्न सकिने उक्त पदमार्गमा बुढाथुमको कालिका मन्दिरको अवलोकन गरी बाथलडाँडाको जीपलाइनको मज्जा लिन सकिन्छ। गाउँपालिकाको वडा नं ७ स्थित बाथलडाँडा र वडा नं ६ बसेरी जोड्ने नेपालकै दोस्रो झोलुङ्गे पुलसमेत उक्त पदमार्गमा पर्दछ। तीनसय ५० मिटरको उचाइमा रहेको उक्त पुल ४२० मिटर लामो रहेको छ।

बुढाथुमबाट बसेरी प्रवेश गरेसँगै बसेरीमा निर्माण गरिएको ‘बसेरी फार्म हाउस’ले पर्यटकलाई अर्को मज्जा दिन्छ। पूर्व पर्यटन व्यवसायीसमेत रहनुभएका वडाध्यक्ष ढकाल स्थानीयस्तरमा उत्पादित अग्र्यानिक खानाबाट पर्यटन प्रवर्द्धन गर्नका लागि ‘बसेरी फार्म हाउस’ सञ्चालनमा ल्याइएको बताउँछन्। उक्त फार्म हाउसमा ५० जना पर्यटक बस्न मिल्ने व्यवस्था मिलाइएको छ।

वडा नं ६ मा पर्यटकलाई बस्नका लागि ‘भैँसे होमस्टे’ समेत सञ्चालनमा ल्याइएको छ। तामाङ जातीको बाहुल्यता रहेको भैँसे गाउँमा तामाङको संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि ‘होमस्टे’ सञ्चालनमा ल्याइएको वडाअध्यक्ष ढकाल बताउँछन्।

भैँसे होमस्टेदेखि उक्त पदमार्ग हिले वन हुँदै बन्दीडाँडा पुग्दछ। बन्दी डाँडाबाट अदुचेत खर्क, नाङ्गे चौरको वन, गोरखा र धादिङको साँधमा रहेको घुमाउने खोला, धरेन खर्क हुँदै समुन्द्र सतहदेखि दुई हजार ९२० मीटर उचाईमा रहेको ‘तीनसुर भ्यू टावर’ पुग्न सकिन्छ। बाटोमा विभिन्न प्रकृतिका चराको आवाज, जंगलभित्र ढकमक्क फुलेका फरक रङका लालिगुँरास, रुख काफल, औसेलीका झ्याङ देख्न सकिन्छ।

यसका अलावा उक्त जंगलभित्र जम्बु, गुयली, झिगान, लाकपार, कालीकाठ, धरकौला, उत्तिस, गोब्रे सल्ला, लौठसल्ला, तिते निगालो, घोडे निगालो, सिगाने निगालोलगायतका सयौँ किसिमका वोटविरुवा देख्न सकिन्छ।   

तीनसुरे भ्यू टावरमा परम्परागत रुपमा बनाइएका दुईवटा गुम्बा रहेका छन्। भ्यू टावरबाट गोरखा जिल्लाको पातलेखर्क, मान्वु, स्याम्चेत, कटुञ्जे, धार्चे, स्याम्च्याङ, आर्खेत, थुमी, माछाखोला, सिङ्ला, काशीगाउँ, उइउा, लाप्राकलगायतका स्थानहरू देख्न सकिन्छ भने धादिङ जिल्लाको खनीयाबास र रुवीभ्याली गाउँपालिका, फुलखर्क, मझुवा, डाँडाखर्क पैँयुखर्क, आलुपोखरा, गणेश हिमाल, त्रिपुरासुन्दरी, रसुवा, नुवाकोट, काठमाडौं, चितवनका विभिन्न भाग देख्न सकिन्छ।

समुन्द्र सतहदेखि दुई हजार ९२० मिटर उचाइमा रहेको तीनसुरे प्राकृतिक हिसाबले अत्यन्त सुन्दर डाँडो हो। यहाँबाट धौलागिरि, अन्नपूर्ण, गणेश हिमाल, लाङटाङ, हर्क गुरुङ हिमाल, मनास्लुगायत आधा दर्जनभन्दा बढी हिमालहरू नजिकै देख्न सकिन्छ। तीनसुरे डाँडाले गोरखाको चुमभ्याली र धादिङको रुविभ्यालीलाई समेत जोडेको छ। यहाँबाट गंगाजमुना गाउँपालिकाको वडा नं १ र २ मा रहेको पासाङ चोक महादेव मन्दिरसमेत पुग्न सकिन्छ। 

गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ गंगाजमुनाको पर्यटन विकासका लागि गाउँपालिकाले पर्यटन नीति बनाएर अगाडि बढेको बताउँछन्। 'गंगाजमुनाले अगाडि बढाएको पाँचवटा गौरवको आयोजनामध्ये तीनवटा आयोजना पर्यटन क्षेत्रका रहेका छन्, गंगाजमुनाले पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ,' उनी भन्छन्।

गाउँपालिकाले ‘गंगाजमुना तीनसुरे पदमार्ग’लाई गोरखाको मनास्लुदेखि धादिङको लाङटाङ जाने ‘इन्ट्री प्वाइन्ट’का रुपमा समेत लिएको छ।

यस्तै केन्द्रीय सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लगानीमा ‘गंगाजमुना पर्यटन पूर्वाधार विकास योजना’ अन्तर्गत गंगाजमुना मन्दिर परिसरमा मन्दिर, भजन मण्डली, पाहुना घर, गुम्बा निर्माण कार्य अगाडि बढाइएको छ।

तीनसुरे डाँडा र वनलाई समेटेर गणेश पर्वत संरक्षण क्षेत्रका रुपमा विकास गर्नका लागि गाउँपालिकाले गौरवको योजनाका रुपमा अगाडि बढाएको हो। गाउँपालिकाले गौरवका योजनाका साथै होमस्टे प्रवर्द्धन कार्यक्रमका लागि गाउँपालिकाको वडा नं ३ स्थित अम्बोटे गुरुङ गाउँमा ‘होमस्टे’, वडा नं ६ को भैँसे गाउँमा ‘भैँसे पाहुना घर’ निर्माण गरेको छ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि ‘कुकिङ’ तालिम, पर्यटन सत्कार तालिम, धर्म संस्कृति संरक्षण, गोरु जुधाई कार्यक्रम, नक्सांकन होर्डिङ बोर्ड निर्माण, पासाङ चोक महादेव मन्दिर पर्यटन पूर्वाधारलगायतका कामलाई अगाडि बढाउन एक करोड रकम विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ बताउँछन्।

उक्त पदमार्गमा पर्ने गंगाजमुना गाउँपालिका-३ स्थित आलुपोखरामा गुरुङ संस्कृतिको अवलोकन गर्न सकिन्छ। गुरुङ जातिको मुख्य संस्कृति कौरा, चुड्का, रोधीलाई आलुपोखराका गुरुङले अगाडि बढाएका छन्। गाउँपालिकाको उचाइमा रहेको यस बस्तीमा होमस्टे सञ्चालन गर्नका लागि वडाले पहल गरिरहेको वडा नं ३ का वडाअध्यक्ष राजकुमार गुरुङ बताउँछन्।

आलुपोखराबाट चिम्चोक हुँदै वडा नं २ र ३ को सीमानामा रहेको तप्राङ खोलामा पुग्न सकिन्छ। उक्त खोलामा रहेको तेम्बाह्यारा भीर भीरमौरीको लागि प्रख्यात भीर हो। तामाङ भाषामा तेम्बाको अर्थ ‘मौरी’ र ह्याराको अर्थ ‘भीर’ भन्ने हुन्छ।

वडा नं २ मा रहेको तेम्बाह्यारा भीरमा विगत दुईसय वर्षदेखि भीरमौरीको मह निकालिँदै आएको सो वडाका वडाध्यक्ष बलबहादुर तामाङ बताउँछन्। त्यहाँ उत्पादित भीरमौरीको मह राजधानी काठमाडौंलगायत विभिन्न स्थानमा विक्रिवितरण गरिँदै आएको छ। उक्त महको प्रतिमाना एक हजार ५०० देखि दुई हजारसम्ममा विक्री वितरण हुँदै आएको छ।

तेम्बाह्यारा भीरमा जोडिएको लताप गाउँ, धुसेनी, तावललगायतमा तामाङ समुदायको बसोबास रहेको छ। वडा नं २ मा रहेको उक्त गाउँको प्रमुख आयस्रोत निगालो खेती र कफी खेती हो। यहाँका बासिन्दाले निगालोबाट थुन्से, डोका, डाला, मान्द्रो, भकारी बनाएर बिक्री गर्दै आएका छन्। यस्तै कफीबाट समेत स्थानीयवासीले राम्रो आम्दानी गरेका छन्।

वडा नं १ री गाउँमा समेत तामाङ जातिको बाहुल्य रहेको छ। धादिङको रुवीभ्याली र खनियाबास गाउँपालिकासँग जोडिएको वडा नं १ का बासिन्दाको समेत आम्दानीको स्रोत कफीखेती र निगालो रहेको वडाध्यक्ष बहादुर तामाङ बताउँछन्। वडा नं १ र २ को सिमानामा रहेको पासाङ चोक मन्दिर जानका लागि री गाउँको बाटो हुँदै जाँदा सहज हुन्छ।

यस्तै वडा नं ३ मा रहेको अम्बोटे ‘होमस्टे’ समेत पर्यटक आकर्षणको अर्को गन्तव्यस्थल हो। भारतीय सेनामा जागिर खाएर अवकासप्राप्त गुरुङ समुदायका १६ घर परिवार मिलेर दुई वर्षदेखि सञ्चालन गरिएको अम्बोटे ‘होमस्टे’ घुम्नका लागि अहिले धादिङ, चितवन, काठमाडौं, पोखरालगायतका स्थानबाट मानिसहरू आउने गर्दछन्। गुरुङ समुदायको संस्कृति र अग्र्यानिक खानामार्फत पर्यटन प्रवर्द्धनमा जुटेको उक्त होमस्टे गाउँपालिकाकै नमूना होमस्टेका रुपमा विकास हुँदै गएको छ।

होमस्टे सञ्चालक समितिका अध्यक्ष उत्तम गुरुङ अम्बोटे ‘होमस्टे’मा स्थानीय स्तरमा उत्पादित अग्र्यानिक खाद्यान्न र स्थानीय संस्कृतिमार्फत मज्जा लिन सकिने बताउँछन्। उक्त होमस्टेमा ५० देखि ६० जनासम्म बस्न मिल्ने क्षमता रहेको छ। होमस्टेमा खान र बस्नका लागि एक रातको ६०० देखि एक हजार २०० सम्म लाग्ने गर्दछ।

यस्तै, वडा नं ४ मा रहेको माछापोखरीले समेत पर्यटकलाई आकर्षित गर्दछ। वडा नं ४ को दशमिन्द टोलमा रहेको माछापोखरीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ। उक्त वडामा कालिका मन्दिर, रातमाटेको पोखरी मन्दिर, मण्डली मन्दिर, मष्टमण्डली मन्दिरलगायतका धार्मिक तीर्थस्थल रहेको वडाअध्यक्ष प्रेमबहादुर घले बताउँछन्। सो वडामा घले, गुरुङ, क्षेत्री, ब्राम्हण, दलितलगायतका समुदायको बसोबास रहेको छ।

गंगाजमुना-७ का वडाध्यक्ष रवीन अधिकारी नयाँ पदमार्ग अगाडि बढाएसँगै गंगाजमुना गाउँपालिकाको पर्यटकीय विकासमा निकै सहयोग पुग्ने बताउँछन्। 'आर्खेतदेखि रीसम्मको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई अगाडि बढाउने यो पदमार्गको मुख्य लक्ष्य हो,' उनी भन्छन्।

गंगाजमुना गाउँपालिकाले प्रकृति र संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको कार्यक्रमलाई विशेष योजनाका साथ अगाडि बढाएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ५ का वडाध्यक्ष कुमार अधिकारी बताउँछन्। 'यस गाउँपालिकाको पर्यटकको आकर्षणको मुख्य स्थान भनेको गंगाजमुना झरना र मन्दिर नै हो,' उनी भन्छन्।

पछिल्लो समय जथाभावी रुपमा स्थानीय निकायले मोटरबाटो खनेर पदमार्ग मासिरहेका बेला गंगाजमुनाले भने गाउँपालिकाभित्रका सातवटै वडा जोड्ने गरी नयाँ पदमार्ग अगाडि बढाएको हो।

‘कृषि, पर्यटन र पूर्वाधार : गंगाजमुना विकासको आधार’ भन्ने मूल नारा बोकेको उक्त गाउँपालिकाले अन्य गाउँपालिकाको सहकार्यमा नर्सिङ धाम-गंगाजमुना-सल्यानकोट माई मन्दिरलाई धार्मिक पर्यटन सर्किटका रुपमा विकास गर्न गाउँपालिका लागेको सो गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा बताउँछन्।

प्राकृतिक मनोरञ्जनसँगै ब्राम्हणको भजन, नेवारको लाखे नाच, लामाको परम्परागत घोडा नाच, गुरुङको घाँटु नाच,  मगर, राई, घलेलगायतका परम्परागत संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गाउँपालिका लागेको छ। गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक महत्व भएको गंगाजमुनामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्नका लागि ‘गंगाजमुना तीनसुरे पदमार्ग’लाई अगाडि बढाइएको बताउँछन्।

यस पदमार्गलाई अगाडि बढाउनका लागि काठमाडौंमा बसेका धादिङका पर्यटन व्यवसायीसँग समेत सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ छ। धादिङको गंगाजमुनामा जन्मेर संघीय राजधानी काठमाडौंमा आई पर्यटन व्यवसयामा आवद्ध १०० भन्दा बढी होटल, रेष्टुरेन्ट तथा ट्रेकिङ कम्पनी रहेका छन्।

यसअघि नेपाल पर्यटन वोर्डको आर्थिक सहयोगमा गंगाजमुना गाउँपालिकामा एक करोडभन्दा बढी लगानीमा ‘हिमालयन स्काई ट्रेल’ निर्माण भएको थियो। उक्त ट्रेलको त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास र तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले शुभारम्भ गरेका थिए।

गंगाजमुनाका स्थानीयबासी एवम् टानका पूर्वअध्यक्ष ज्योति अधिकारी आन्तरिक तथा बाह्य पर्यटकको अथाह सम्भावना गंगाजमुनामा पर्यटन विकासका लागि गंगाजमुनाकै पर्यटन व्यवसायीहरू लाग्नुपर्ने बताउँछन्। 'सबै व्यवसायीले आफ्नो क्षेत्रलाई नमूना बनाऔँ, आन्तरिक र बाह्य पर्यटक आउन समस्या हुँदैन,' उनी भन्छन्।

यसअघि धादिङको रुवीभ्याली र गोरखाको चुमभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्गका रूपमा उक्त पदमार्गलाई खोज, अनुसन्धान, ‘डिजाइन’, योजना निर्माण एवम् प्रवद्र्धधनका लागि गाउँपालिकाले टानसँग सम्झौता गरेको थियो।

सम्झौतासँगै टानले गंगाजमुना तीनसुरे पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन तयारी, पदमार्ग विकास तथा प्रवर्द्धन योजना तयारी, पदमार्गको नयाँ नक्सा प्रकाशित, पदयात्रा मार्ग प्रवद्र्धधनात्मक वृत्तचित्र तथा ‘ब्रोसियर’ निर्माण, पदमार्गमा पर्यटन सूचना ‘साइनबोर्ड’ राख्नेलगायतका काम गर्ने टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल बताउँछन्।

टानले यसबाहेक गोरखाको बारपाक-सुलिकोट गाउँपालिकादेखि अजिरकोट गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका हुँदै मस्र्याङ्दी गाउँपालिका जोड्ने ‘बुद्ध हिमाल-हिमचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्न लागेको छ। उक्त पदमार्ग १८ दिनको हुनेछ।

यसैगरी काभ्रेपलाञ्चोकको चौँरी देउरालीमा तिमालबाट चौँरी देउराली हुँदै शैलुङ जोड्ने पदयात्रा मार्गको विकास र प्रवर्द्धन गर्नका लागि टानले सो नगरपालिकासँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ।

टानका अध्यक्ष निलहरि बास्तोला पछिल्लो समय स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएको बताउँछन्। 'स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा धेरै पदमार्ग मासिँदै गएका छन्, यसलाई जोगाउँदै नयाँ पदमार्ग निर्माणका लागि टानले विभिन्न संस्थासँगको सहकार्यमा काम गरिरहेको छ,' उनी भन्छन्।

अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने मनोमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ। सगरमाथा आधार शिविर, अन्नपूर्ण, मनास्लु, कञ्चनजंगा क्षेत्र पदयात्राका लागि राम्रा गन्तव्य हुन्। नेपालमा आउने पर्यटकमध्ये १० देखि १५ प्रतिशत पर्यटक पदयात्राका लागि  जाने गरेको नेपाल पर्यटन वोर्डका सूचना अधिकारी मणिराज लामिछाने बताउँछन्।

पछिल्लो समय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको छ। अन्नपूर्ण, सगरमाथा, लाङटाङ, मुस्ताङ, डोल्पालगायत आकर्षक गन्तव्यका रूपमा चिनिन्छ। विश्वका विभिन्न ट्राभल एडभाइजरहरूले पनि नेपालका विभिन्न पदयात्रा मार्गहरूलाई विश्वकै उत्कृष्ट गन्तव्यस्थलको रूपमा व्याख्या गरेका छन्। रासस


प्रकाशित : सोमबार, वैशाख २४ २०८१०१:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend