शनिबार, जेठ ५ गते २०८१    
images
images

बन्द भएको ६ वर्षपछि भोजपुर-विराटनगर उडान सुरु

images
शनिबार, वैशाख २२ २०८१
images
images
बन्द भएको ६ वर्षपछि भोजपुर-विराटनगर उडान सुरु

नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर-विराटनगर उडान थालेको हो।

images
images

भोजपुर- उडान बन्द भएको छ वर्षपछि भोजपुर-विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ। नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर-विराटनगर उडान थालेको हो।

images
images
images

बन्द भएको छ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन्। भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले खादा र केक बाँड्दै यात्रुलाई विराटनगरका लागि शुभकामना दिएका थिए। उनका अनुसार काठमाडौंबाट आएको निगमको जहाजले नौ जना यात्रु लिएर विराटनगर उडेको छ।

images

उडान बन्द भएको लामो समयपछि विराटनगर उड्न पाएकामा यात्रु उषा थापाले खुसी महसुस गर्दै भनिन्, 'समस्यामा परेका यात्रुलाई विराटनगर जान अब सहज भएको छ, हामी जिल्लावासी त्यसैमा खुसी छौँ, निगमले नियमित उडान गर्न जरुरी छ।'

images
images

वायुसेवा निगमले हप्तामा शनिबार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले बताए। 'अब उडान तालिकाअनुसार नै विराटनगर उडान हुनेछ। अहिलेका लागि काठमाडौंबाट भोजपुर आएर विराटनगर जाने र विराटनगरबाट फर्किएर फेरि काठमाडौं जाने तालिका बनाएका छौँ', उनले भने।

images
images

विमान अभावलगायतका समस्या देखाउँदै निगमले भोजपुर-काठमाडौं उडान तालिका कायम राख्दै विराटनगर उडान बन्द गरेको थियो। विसं २०७४ पछि विराटनगर उडान हुन सकेको थिएन। जिल्लावासीको मागलाई सम्बोधन गर्दै निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेसन प्रमुख खड्काको भनाइ छ।

हवाई उडान बन्द हुँदा जिल्ला अस्पतालबाट सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरिएका बिरामी लैजान तथा ज्येष्ठ नागरिकलाई समस्या हुँदै आइरहेको थियो। ज्येष्ठ नागरिक र बिरामीलाई समस्या भइरहेको अवस्थामा बन्द रहेको उडान फेरि सञ्चालन हुँदा आवागमन सहज हुँदै जाने नगरप्रमुख आलेले बताए। उनले भने, 'अब तोकिएको दिन सेवा सञ्चालन हुनेगरी निगमले उडान गर्नुपर्छ, जसले समस्यामा परेका नागरिकलाई सेवा पुगोस्।'

वायुसेवा निगम भोजपुरले भोजपुर-विराटनगर भाडा चार हजार २९ रूपैयाँ कायम भएको जनाएको छ। नागरिकको सेवालाई ध्यान दिँदै इ-सेवामार्फत पनि टिकट लिने व्यवस्था मिलाइएको छ। पाँच सय ४५ मिटर लम्बाइ भएको विमानस्थल कालोपत्र भए पनि विराटनगर उडान भने ठप्प थियो।

प्रदेश राजधानी जान र आउन पुनःउडान सुरु भएपछि सहजता थपिएको भोजपुरवासी शंकरप्रसाद आचार्यको भनाइ छ। रासस


प्रकाशित : शनिबार, वैशाख २२ २०८१०२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend