बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म गरियो ‘रोप फिक्सिङ’

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १८ २०८१
सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म गरियो ‘रोप फिक्सिङ’

सगरमाथा आरोहणका लागि हालसम्म ३७ आरोही समूहका ७० महिला र ३ सय २० पुरुष गरी कुल ३ सय ९० आरोहीले आरोहण अनुमति लिएका छन्।

काठमाडौं- सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ। मौसमले साथ दिए बैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए रोपफिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र बैशाखको २८ देखि आरोहण सुरु हुनेछ छ। यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाइसकेको थियो।

‘यो याममा सगरमाथालगायत ल्होत्से हिमालमा दोस्रो शिविर (क्याम्प २) देखि चुचुरोसम्म रोपफिक्सिङको जिम्मेवारी पर्वतारोहण सञ्चालक संघ नेपालको व्यवस्थापनमा सेभेन समिट ट्रेक्स प्रालिलाई दिएको र आइतबार  रोप फिक्सिङ टोलीले चौथो शिविरसम्म डोरी टाँग्ने काम सम्पन्न भएको छ’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।    

विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३७ आरोही समूहका ७० महिला र ३ सय २० पुरुष गरी कुल ३ सय ९० आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार ४ सय ४९ रुपैयाँ रोयल्टी जम्मा भएको छ। 

निर्देशक गुरुङले सगरमाथा आरोहणमा उत्साहवर्द्धक रुपमा आरोही आइरहेको बताउँदै अझै दुई/चार आरोही समूहले अनुमति लिनसक्ने बताए। अहिले विभागबाट धमाधम आरोहीले अनुमति लिइरहेका छन्। धेरै आरोही सगरमाथा आधार शिविर पुगिसकेका छन्। 


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend