बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

म्याग्दी र मुस्ताङमा पर्यटक आवागमनमा वृद्धि, पर्यटकीय क्षेत्रका होटल खचाखच

सोमबार, वैशाख १७ २०८१
म्याग्दी र मुस्ताङमा पर्यटक आवागमनमा वृद्धि, पर्यटकीय क्षेत्रका होटल खचाखच

मुस्ताङको मुक्तिनाथ, जोमसोम, लेते र उपल्लो मुस्ताङको लोमान्थाङमा पर्यटकको लर्को लागेको व्यवसायी बताउँछन्।

गलेश्वर- म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ।

देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागवेनीलगायतका क्षेत्रमा आएका छन्।

पाहुनाका कारण पर्यटकीय क्षेत्रका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी यातायातका साधन बाक्लै गुडेका बेनीको प्रवेश नाका कालीपुलस्थित ट्राफिक प्रहरीले जनाएको छ।

म्याग्दीको पर्यटकीयस्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न दैनिक तीन सयदेखि चार सयसम्म पर्यटक जाने गरेका घोडेपानीका होटल व्यवसायी मिना पुनले बताइन्।

स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने पर्यटकको भीड बेनीमा देख्न सकिन्छ। घोडेपानी टोल सुधार समितिका संयोजक विरेन गर्बुजाका अनुसार नयाँ वर्ष २०८१ को सुरुवातसँगै आन्तरिक तथा बाह्य पर्यटकको घोडेपानी र पुनहिलमा भीड लागेको छ।

मुस्ताङमा पनि आन्तरिक तथा बाह्य पर्यटक बढेका पर्यटन तथा होटल व्यवसायीले बताएका छन्। मुस्ताङको मुक्तिनाथ, जोमसोम, लेते र उपल्लो मुस्ताङको लोमान्थाङमा पर्यटकको लर्को लागेको जोमसोमका व्यवसायी नवीन शेरचनले बताए।

चितवनको क्षेत्रपुरबाट म्याग्दीको घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको भ्रमणमा आएका सागर श्रेष्ठ, मनिका श्रेष्ठ, सलिन काफ्लेलगायत उनको समूहका १५ युवा युवतीले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक क्षेत्रको भ्रमण गरेर शनिबार बेनी फर्किएको र यहाँ एक रात बसेर बागलुङ तथा कुश्माका पर्यटकीय क्षेत्रको घुमफिर गरेर मात्रै चितवन जाने जानकारी दिए।

केही दिनयता बेनीमा आन्तरिक पर्यटकको आगमन साविककोभन्दा उल्लेख्यरुपमा बढेको बेनीका होटल व्यवसायीले बताएका छन्। बैशाख पहिलो सातादेखि नै म्याग्दीमा साविककोभन्दा पर्यटक बढी आएका र अधिकांश ठूला होटल भरिभराउ भएको होटल व्यवसायी बाबुराम आचार्यले जानकारी दिए।

पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो। पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमासमेत पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको उनको भनाइ थियो। रासस


प्रकाशित : सोमबार, वैशाख १७ २०८११५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend