शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

बढ्न थाल्यो विद्युत खपत, कुलमान भन्छन्- असारसम्ममा पिक डिमाण्ड दुई हजार मेगावाट

images
आइतबार, पुस ४ २०७८
images
बढ्न थाल्यो विद्युत खपत, कुलमान भन्छन्- असारसम्ममा पिक डिमाण्ड दुई हजार मेगावाट
images
images

काठमाडौं- विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग बढेको छ। नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको विद्युतको उच्च माग (पिक डिमाण्ड)तीन सय मेगावाटको हाराहारीमा बढेको हो। 

images
images
images

आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरूलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको प्राधिकरणले जनाएको छ। 

images
images

विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धि, विद्युतबाट सञ्चालन हुने यातायातका साधनको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको छ। प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएकाले पनि माग बढेको हो। 

images
images

विद्युतको माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको छ। उदाहरणका मंंसिर २७ गते प्रणालीमा विद्युतको उच्च माग १५३९ मेगावाट थियो। यो माग गत वर्षको सोही दिनको १२१७ मेगावाटको तुलनामा ३२२ मेगावाट बढी हो । यस आधारमा विद्युतको पिक डिमाण्ड गतवर्षको सोही दिनको तुलनामा २६.५ प्रतिशत वृद्धि भएको छ। 

मंसिर २७ गतेको प्रणालीको पिक डिमाण्ड पूर्तिका लागि प्राधिकरणका विद्युतगृहहरूबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युतगृहहरूबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरूबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो। सोही दिन पिक समयमा पनि ४ मेगावाट विद्युत भारततर्फ निर्यात गरिएको थियो। 

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत माग पनि बढेको छ। काठमाडौं उपत्यकाको विद्युतको अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ। गतवर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमाण्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ। 

ऊर्जाका मागका आधारमा आधारमा मंसिर २७ गते विद्युत खपत दुई करोड ७२ लाख युनिट थियो। यो खपत गत वर्षको सोही दिनको २ करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो। उर्जाका आधारमा विद्युत खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशत बढी हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमाण्ड बढ्नु ठूलो उपलब्धी भएको बताए। 

‘घरायसी प्रयोजनका लागि इन्डक्सन चुल्हो तथा घरमा एयर कन्डिसनको प्रयोग बढिरहेको छ, विद्युतीय सवारी साधनको प्रयोग बढ्दा चार्जिङ स्टेसन विस्तार भइरहेको छ, औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भने। ‘विद्युतको माग अहिलेकै रुपमा वृद्धि भयो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्न सक्ने देखिएको छ।’

घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार  विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताए। कार्यकारी निर्देशक घिसिङ आफैंले मुलुक भित्रका मुख्य औद्योगिक करिडोरको अनुगमन भ्रमण गरी उद्योगीहरूलाई चाहिएजति विद्युत लिन आग्रह गर्दै आएका छन्। 

प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र  निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ। 

दीर्घकालीन योजनाअन्तर्गत  विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ। 

प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरूलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरिरहेको छ। मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको छ।


प्रकाशित : आइतबार, पुस ४ २०७८०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend