आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मार्ग खुलेको २४ वर्षपछि सडक स्तरोन्नति

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १४ २०८१
मार्ग खुलेको २४ वर्षपछि सडक स्तरोन्नति

गण्डकी प्रदेश सरकारको २८ लाख ८० हजार रुपैयाँ अनुदान र उपभोक्ताको ३ लाख २० हजार ३ सय ५३ बराबरको श्रमदानमा योजना निर्माण भएको हो।

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ। बेनी-बागलुङ सडकअन्तर्गत रत्नेचौरको पिपलडाँडादेखि दमाहचौतारा जोड्ने सडक मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति भएको हो। 

विसं २०५७ मा तत्कालीन गाविसको ८१ हजार रुपैयाँ बजेटमा बेनी-बागलुङ सडकको किराखोरस्थित प्रतीक्षालयबाट दमाहचौतारासम्म करिब तीन सय मिटर सडकको मार्ग खोलिएको थियो।

दुई सयभन्दा बढी घरधुरी रहेको रत्नेचौरको मुख्य बस्तीभित्र यसअघि निर्माण भएको सडकलाई ढलान र विस्तार गरेर धिमालथर पुर्‍याइएको उपभोक्ता समितिका अध्यक्ष ओम रोकाले बताए। 

गण्डकी प्रदेश सरकारको २८ लाख ८० हजार रुपैयाँ अनुदान र उपभोक्ताको ३ लाख २० हजार ३ सय ५३ बराबरको श्रमदानमा योजना निर्माण भएको उनले जानकारी दिए। एक सय ६५ मिटर दुरीमा सडक ढलान, एक सय ३९ मिटर पक्की नाली र एक सय १५ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिएको छ।  

गतवर्ष बेनी नगरपालिकाले विनियोजन गरेको रु आठ लाख बजेटबाट किराखोर प्रतिक्षालयदेखि एक सय ५४ मिटरदुरीमा पिसिसी ढलान र १०.१३ घनमिटर मेसिनरी पर्खाल निर्माण भएको थियो। 

सडक ढलान र नाली निर्माण भएपछि बर्खामा हिलो र हिउँदमा धुलोको समस्या हटेको स्थानीयवासी ईश्वर रावलले बताए। स्थानीयवासी निर्मला शर्माका अनुसार सो सडकमा पानी पर्दा सडक चिप्लो भएर लड्ने र हिउँदमा धुलोको समस्या थियो।

विपद् न्यूनीकरण, वातावरणमैत्री र रोजगारी सिर्जनाका लागि डोजरको विकल्पमा मजदूर परिचालन गरेर सडक स्तरोन्नति गरिएको छ।

उपभोक्ता समितिका सचिव कृष्ण रावलले बस्तीभित्र डोजर र ब्याकुहोलोडर चलाउँदा विपद् निम्तने भएकाले मजदूर परिचालन गरेको बताए। 

'ब्याकुहोलोडर ल्याएर भित्ता काट्ने, नाली खन्ने र सम्माउने काम गर्न सकिन्थ्यो तर विपद्को जोखिम घटाउन मजदूर परिचालन गरेका हौँ,' उनले भने 'करिब दुईमहिना दैनिक पाँचदेखि १४ जनासम्म मजदूरले सडक निर्माणको काम गरेका थिए।'

विकाससँगै स्थानीयवासीलाई रोजगारीको अवसर सिर्जना भएको छ। सडक निर्माणमा खटिएका मजदूरका लागि स्थानीयवासीले स्वेच्छिक रुपमा पालो लगाएर खाजाको व्यवस्थापन गरेका छन्। 

धिमालथर तर्फ नयाँ मार्ग खोल्नका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन लाख बजेट विनियोजन गरेको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले रत्नेचौरको सडक योजनामा जनसहभागिता जुटाएर उपभोक्ता समितिले लक्ष्यअघि नै काम सकेकामा खुसी व्यक्त गरे। रासस 


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८११७:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend