आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

शुक्रबार, वैशाख १४ २०८१
सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुलेको छ।

गोदावरी- कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको काममा ढिलाइ भएको छ। पर्याप्त बजेट नहुँदा सो लोकमार्ग निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुलेको छ।

जम्मा दुई सय चार किलोमिटर लम्बाइ रहेको उक्त सडकको ७८ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ। कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ। 

कैलालीको टीकापुरदखि चैनपुरसम्म डोटी, बझाङ र अछाममा रेखांकन गरिएका कतिपय ठाउँमा ट्र्याक खोल्न बाँकी रहेको आयोजना प्रमुख पुजन गिरीले बताए। अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर सडकको ट्र्याक खोल्ने काम बाँकी रहेको प्रमुख गिरीले जानकारी दिए।

उनका अनुसार बाजुराको मेडासैनदेखि राना गाउँसम्मको १२ किलोमिटर ट्र्याक खोल्न बाँकी छ। सो सडकखण्डमा पर्ने कतिपय ठाउँमा रुख कटानीका कारण ट्र्याक खोल्ने काम अघि नबढेको हो। चैनपुरदेखि उरै भञ्ज्याङसम्म भौगोलिक विकटताका कारण काम गर्न समस्या भइरहेको आयोजना प्रमुख गिरीले बताए।

चालु आर्थिक वर्षमा सो सडकका लागि १४ करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो। सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा तीन करोड रूपैयाँ विनियोजन गरिएको थियो। पुल निर्माण सम्पन्न भएपनि बजेट अभाव भएकाले भुक्तानी दिन नसकिएको प्रमूख गिरीले बताए।

कैलाली, डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्दै ताक्लाकोट सीमा नाका जोड्ने यो लोकमार्ग उत्तर-दक्षिण जोड्ने रणनीतिक महत्व बोकेको सडक हो । यो लोकमार्ग धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण चीनको मानसरोवर पुग्ने छोटो मार्ग हो। 

आव २०६५/६६ मा निर्माण सुरु गरिएको यो लोकमार्ग नेपाल सरकारको प्राथमिकताको आयोजना भनिएपनि काम सुस्त बनेको हो। रासस


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८११२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend