बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलबाट फर्किन सकेन निगमको जहाज

सोमबार, वैशाख १० २०८१
पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलबाट फर्किन सकेन निगमको जहाज

काठमाडौं- इञ्जिन मर्मत गरेर स्वेदश ल्याउन लागिएको नेपाल वायुसेवा निगम (नेवानि)को जहाज फेरि इजरायलमै रोकिएको छ। पार्किङ ब्रेकमा समस्या आएपछि ९एन–एकेएक्स कलसाइनको जहाज स्वदेश फर्किने मिति अनिश्चित बनेको हो।

इजरायल एरोस्पेस इन्डष्ट्रिज (आइएआई)ले १० बैशाखमा जहाज हस्तान्तरण गर्ने भनेपछि निगमका पाइलट इजरायल पुगिसकेका हुन्। ब्रेकमा समस्या देखिएपछि जहाज ल्याउन इजरायल पुगेका निगमका क्रु मेम्बर उतै रोकिएका छन्।

इञ्जिनमा समस्या आएपछि बैंककबाट काठमाडौंमा अवतरण गरेलगत्तै १३ मंसिरमा जहाज ग्राउन्डेड गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज ग्राउन्डेड गरेर राख्दा चौतर्फी आलोचना भएपछि निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले २६ पुसमा जहाज इजरायल पठाएका थिए।

सोमबारसम्म जहाज ग्राउन्डेड भएको १४६ दिन पूरा भएको छ। यस्तै जहाज इजरायल पठाएर थन्काएको पनि १०३ दिन पुगेको छ।

मर्मत गरिएको जहाजको पार्किङ ब्रेकमा समस्या देखिएको स्रोतको भनाइ छ। ब्रेकका पार्टपुर्जा इजरायलमा छैनन्। स्रोत भन्छ, ‘पार्टपुर्जा लन्डनमा फेला परेको छ। त्यो पार्टपुर्जा इजरायल ल्याई चेन्ज गरेपछि मात्र जहाज नेपाल आउने छ।’

जहाज सोमबार बिहान इजरायलबाट उडेर दुबई हुँदै नेपाल आउने तालिका थियो। तर इञ्जिन मर्मत कम्पनी आइएआईको लापरबाहीका कारण जहाज नेपाल आउने समय फेरि अनिश्चित बनेको छ।

यसअघि असोजमा पनि भाडाको इञ्जिन जडान गरेर जहाज नेपाल ल्याउने क्रममा प्राविधिक समस्या देखिएर क्रु मेम्बर करिब दुई साता उतै रोकिएका थिए।

जहाज आएपछि मंगलबारदेखि नियमित उडान गर्ने निगमको तयारी थियो। सोही अनुरुप उडान तालिकासमेत बनाइएको थियो। तर जहाजमा फेरि अर्को समस्या देखिएपछि मंगलबारदेखि गर्ने भनिएको उडान तालिका प्रभावित भएको छ। सयौं यात्रुलाई अन्य एयरलाइन्सबाट गन्तव्यमा पठाउनुपर्ने भएको छ।


प्रकाशित : सोमबार, वैशाख १० २०८१२३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend