बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

२५ प्रतिशतबाट निगमको बजार हिस्सा १२ प्रतिशतमा झर्‍यो, बढी यात्रु बोक्नेमा कतार एयर पहिलो

सन् २०२४ को तीन महिनामै काठमाडौं विमानस्थल हुँदै १२ लाख ४० हजारले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

मंगलबार, वैशाख ११ २०८१
२५ प्रतिशतबाट निगमको बजार हिस्सा १२ प्रतिशतमा झर्‍यो, बढी यात्रु बोक्नेमा कतार एयर पहिलो

सन् २०२४ को ३ महिनामा निगमको बजार हिस्सा २ प्रतिशतभन्दा बढीले घटेको छ। निगमको बजार हिस्सा मात्रै घटेको छैन मासिक आम्दानी पनि ४० देखि ५० करोड रुपैयाँले घटेको छ।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को बजार हिस्सा निरन्तर रुपमा ओरालो लागिरहेको छ। निगमको बजार हिस्सा घट्दा विदेशी वायुसेवा कम्पनीको उपस्थिति बढ्दो छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उपलब्ध गराएको सन् २०२४ को तथ्यांकअनुसार निगमको बजार हिस्सा १२.१२ प्रतिशतमा झरेको छ।

सन् २०२३ को अन्त्यसम्ममा निगमको बजार हिस्सा १४.२० प्रतिशतमा झरेको थियो। निगमको एउटा न्यारोबडी जहाज ग्राउन्डेड भएसँगै निगमको बजार हिस्सा झन घटेको हो। निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीको टिम आएसँगै निगमको बजार हिस्सा घटेको घट्यै छ। 

सन् २०२० मा २५ प्रतिशत बजार हिस्सा पुर्‍याएको निगम सन् २०२३ मा १०.७९ प्रतिशत बिन्दुले खस्किएको थियो। सन् २०२३ को कुल अन्तर्राष्ट्रिय हवाई यात्रुमध्ये नेपाल एयरलाइन्सको बजार हिस्सा १४.२० प्रतिशतमा झरेको थियो।

सन् २०२४ को ३ महिनामा निगमको बजार हिस्सा २ प्रतिशतभन्दा बढीले घटेको छ। निगमको बजार हिस्सा मात्रै घटेको छैन मासिक आम्दानी पनि ४० देखि ५० करोड रुपैयाँले घटेको छ।  

विमानस्थल कार्यालयले दिएको तथ्यांकअनुसार सन् २०२४ को ३ महिनामा कुल १२ लाख ४० हजार ८ सय ८४ जनाले काठमाडौं विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

जसमा १ लाख ५० हजार ४ सय ८८ जनाले नेपाल एयरलाइन्सको जहाजबाट यात्रा गरेका छन्। व्यवस्थापनको लापरबाहीका कारण जहाज ग्राउन्डेडको श्रृंखला बढी रहेको छ। जसको असर बजार हिस्सा र आम्दानीमा परेको छ।  

सबैभन्दा बढी यात्रु बोक्नेका कतार एयर

सन् २०२४ को पहिलो ३ महिनामा सबैभन्दा बढीलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिने एक नम्बरको कम्पनी कतार एयर भएको छ। कतार एयरले ३ महिनामै १ लाख ५६ हजार ४ सय ४७ जनालाई काठमाडौं विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ।

दोस्रो बढी यात्रु बोक्नेमा नेपाल एयरलाइन्स रहेको छ। नेपाल एयरलाइन्सले १ लाख ५० हजार ४ सय ८८ जना यात्रुलाई सेवा दिएको छ।

यसैगरी बढी यात्रु बोक्नेमा हिमालय एयरलाइन्स तेस्रो रहेको छ। हिमालयले १ लाख ३० हजार १ सय २७ जना यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिए‍को छ। 

यसैगरी इन्डिगोले १ लाख १८ हजार १ सय ५९, एयर इन्डियाले १ लाख २ हजार २ सय ४७ र फ्लाई दुबईले १ लाख ३ सय १ जनालाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ। 

कुन महिना कति?

विमानस्थल कार्यालयका अनुसार जनवरीमा ३ लाख ९२ हजार ८ सय ४८ जनाले काठमाडौं विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिएका छन।

यसैगरी फेब्रुअरीमा ३ लाख ९५ हजार ३ सय ४७ जना र मार्चमा ४ लाख ५२ हजार ६ सय ८९ जनाले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन्। ३ महिनामा कुल ८ हजार १ सय ८६ वटा उडान तथा अवतरण भएको छ।


प्रकाशित : मंगलबार, वैशाख ११ २०८१०६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend