आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मुग्लिन-पोखरा सडक विस्तार : म्याद सकियो, काम सकिएन

आइतबार, वैशाख ९ २०८१
मुग्लिन-पोखरा सडक विस्तार : म्याद सकियो, काम सकिएन

पूर्वी खण्डमा ५६ प्रतिशत प्रगति भएको छ। म्याद सकिए पनि मुग्लिन-पोखरा सडक विस्तारको काम नसकिँदा ६ महिना म्याद थप्न लागिएको छ।

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ। २०८१ साल बैशाख २ गते सम्झौता म्याद सकिएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ।

कोभिडका समयमा निर्माणकार्य स्थगित गर्नुपरेकाले नेपाल सरकारबाट ६ महिना म्याद थप गर्न लागिएको आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए।

विसं २०७८ बैशाख महिनादेखि निर्माण सुरु गरिएको थियो। कोरोनाका कारण काम गर्न नपाएका योजनाका  म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरुप म्याद थप्न लागेको उनले बताए। उक्त खण्डमा हालसम्म १८ किमी चार लेन र नौ किमि दुई लेन सडक कालोपत्र भएको छ। उनका अनुसार हालसम्म पूर्वी खण्डमा ५६ प्रतिशत कार्य प्रगति भएको छ।

पूर्वी खण्डको अन्तिम बिन्दु तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र अघि बढाइएको छ। अहिले कालोपत्र कार्यलाई प्राथामिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने काम भइरहेको आयोजनाले जनाएको छ।

आयोजना पूरै सम्पन्न गर्न एक वर्ष अवधि थप गर्नुपर्ने आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए। उनका अनुसार नेपाल सरकार, लगानीकर्ता र कन्ट्र्याक्टबीच त्रिपक्षीय छलफल भइरहेको छ।

पूर्वी खण्डमा ४१ दशमलव ७ किलोमिटर दुरी रहेको छ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको थियो। उक्त खण्डका लागि छ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको हो। 

त्यसैगरी पश्चिम खण्डमा दुई लेनको सात दशमलव पाँच किमि सडक कालोपत्र भइसकेको छ। वर्षाअघि कल्भर्ट र नाला निर्माण कार्यलाई तीव्रता दिइएको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए। उनका अनुसार उक्त खण्डमा भौतिक प्रगति २० प्रतिशत पुगेको छ।

पश्चिम खण्डअन्तर्गत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दुरी रहेको छ। उक्त खण्डको ठेक्का चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले पाएको थियो।

यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ। रासस


प्रकाशित : आइतबार, वैशाख ९ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend