आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३
ठूला आयोजना निर्माणमा देखिँदै गति

द्रुतमार्गमा सुरुङ र पुल निर्माणमा सेनाको तीव्रता, उपत्यका जोड्ने राजमार्गमा पनि धमाधम काम

सुनकोसी मरिण डाइभर्सनको ‘ब्रेकथ्रु’ हुँदै

आइतबार, वैशाख ९ २०८१
द्रुतमार्गमा सुरुङ र पुल निर्माणमा सेनाको तीव्रता, उपत्यका जोड्ने राजमार्गमा पनि धमाधम काम

वर्षौंसम्म काम ढिला हुँदा सरकारमाथि दबाब बढ्दै गएपछि केही महत्वपूर्ण पूर्वाधार भने द्रुत गतिमा अगाडि बढेका छन्। सुस्तगतिमा काम भइरहेको काठमाडौं-तराई जोड्ने द्रुतमार्गमा समेत सेनाले गति बढाएको छ।

काठमाडौं- गत बैशाख ३ गते नागढुंगा सुरूङमार्गको मुख्य सुरूङ वारपार (ब्रेक थ्रु) भयो। निर्माण सुरु भएको ५३ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको उपस्थितिमा ‘ब्रेकथ्रु’ गरिएको थियो। योसँगै नेपालको पहिलो यातायात सुरुङ मार्गबाट एक वर्षपछि काठमाडौं भित्रन र बाहिरिन सहज हुनेछ। 

ठूला पूर्वाधार निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरूले केही समययता काममा तीव्रता दिएका छन्। वर्षौंसम्म काम ढिला हुँदा सरकारमाथि दबाब बढ्दै गएपछि केही महत्वपूर्ण पूर्वाधार भने द्रुतगतिमा अगाडि बढेका छन्।

सुस्तगतिमा काम भइरहेको काठमाडौं-तराई जोड्ने द्रुतमार्गमा समेत सेनाले गति बढाएको छ। पछिल्लो समय आलोचना व्यापक भएपछि बुटवल-नारायणगढ सडक खण्डमा समेत कामले तीव्रता पाएको छ। यता काठमाडौं जोड्ने सडकहरूमा समेत ठेकेदार कम्पनीहरूले निर्माणको गतिलाई तीव्रता दिएका छन्।

मुङलिन-पोखरा, मुङलिन-नौबिसे खण्डमा समेत निर्माणमा गति बढेको छ। पोखरा-मुङलिन खण्डमा धेरै स्थानमा कालोपत्रे गर्न थालिएको छ। उता मध्यपहाडी सडक खण्डमा भने खासै कामले तीव्रता पाएको छैन। 

Rahughat 5 hydro nirman ko antim charan ma.jpg

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा अहिले धमाधम सुरुङमार्ग निर्माण हुँदै छ। सुरुङमार्ग निर्माणको काम १२ प्रतिशत पूरा भएको छ। पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ फागुनमा ठेक्का सम्झौता भएको हो। 

पाल्पा-बुटवल सडक खण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्न परेपछि सरकारले सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म १ हजार १ सय २६ मिटर सुरुङमार्ग निर्माणको काम अगाडि बढाएको छ। पूर्वअर्थमन्त्री विष्णु पौडेलेको समेत विशेष चासोका कारण पनि अहिले उक्त आयोजनाको काम धमाधम अगाडि बढाइएको छ। 

सुनकोसी मरिण डाइभर्सन सृुरुङको ‘ब्रेकथ्रु’ बैशाख २६ गते

सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ। कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशमलव एक सय ९० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा बैशाख २६ गते सुरुङको ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको छ। ब्रेक थ्रुको आवश्यक तयारी भइरहेको आयोजनाले जनाएको छ। 

Rahughat 5 hydro nirman ko antim charan ma.jpg

तराई-मधेशका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ। सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको छ। २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ। 

सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन। 

बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन्। निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन। 

आयोजनाबाट तराई-मधेशका कुल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ। आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ। 

काठमाडौं-तराई/मधेश द्रुतमार्गमा सुरुङ र पुल धमाधम 

सेनाले निर्माण गरिरहेको काठमाडौं-तराई/मधेश द्रुतमार्गमा पुल र सुरुङ निर्माणले गति लिएको छ। हालसम्म ३३ प्रतिशत मात्रै कामसपन्न भएपनि पछिल्लो समय सुरुङ र ठूला पुल निर्माणमा भने गति बढेको नेपाली सेनाले जनाएको छ।

अयोजनाको लागत संशोधन गरेर अहिले २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्‍याइएको छ। अहिलेसम्म ६० अर्ब ४४ करोड रुपैयाँ खर्च भइसकेको छ। 

सुरुङ निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ। ६ हजार ४१५ मिटरमध्ये १ हजार ५२९ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको नेपाली सेनाले जनाएको छ। विस्तृत परियोजना रिपोर्ट (डीपीआर) अनुसार ६ वटा सुरुङ निर्माण हुने छन्। महादेवटार, लेनडाँडा र धेद्रे सुरुङ खन्ने काम धमाधम भइरहेको छ। लेनडाँडा र धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ आगामी जेठभित्र गर्ने सेनाले जनाएको छ।

लेनडाँडा सुरुङको कुल दूरी १ हजार ४३० मिट रहेकोमा अहिलेसम्म १ हजार ३५० मिटर खनी सकिएको छ। अब ८० मिटर मात्र खन्न बाँकी रहेको आयोजनाले जानएको छ। धेद्रे सुरुङ १ हजार ६३० मिटरमध्ये १ हजार ३९८ मिटर सुरुङ खनी सकिएको छ। अब २ सय ३२ मिटर मात्र खन्न बाँकी छ।

Rahughat 5 hydro nirman ko antim charan ma.jpg

महादेवटार सुरुङमा पनि धमाधाम काम भइरहेको छ। महादेवटार सुरुङको दूरी ३ हजार ३५५ मिटर छ। अहिलेसम्म २ हजार १३८ मिटर खनी सकिएको र १ हजार २१७ मिटर मात्र खन्न बाँकी छ। पछि थप भएको २ हजार २५० मिटरको चन्द्राम भिर सुरुङ, १ किमिको देवीचौर र ०.३९ किमिको सिसौटार सुरुङको ठेक्का भएर निर्माण प्रक्रियामा गएको आयोजनाले जनाएको छ।

आयोजनाको म्याद ०८३ चैत मसान्तसम्म छ। यो आयोजनामा ८९ पुलमध्ये ८५ पुलको ठेक्का भएर काम भइरहेको छ। खोकना खण्डमा पर्ने ४ वटा पुलको ठेक्का व्यवस्थापन हुन सकेको छैन।  

Rahughat 5 hydro nirman ko antim charan ma.jpg


प्रकाशित : आइतबार, वैशाख ९ २०८१११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend