बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

एक वर्षमा ४ लाख २६ हजार ९ सय ६४ पर्यटकले घुमे मुस्ताङ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ७ २०८१
एक वर्षमा ४ लाख २६ हजार ९ सय ६४ पर्यटकले घुमे मुस्ताङ

घुम्न आएका आन्तरिक पर्यटक मध्ये तीन लाख ३५ हजार चार सय ६६ सडकमार्गबाट र एक हजार आठ सय ७९ पर्यटक हवाई मार्गबाट मुस्ताङ पुगेका हुन्।

म्याग्दी- पछिल्लो एक वर्षको अवधिमा ४ लाख २६ हजार ९ सय ६४ पर्यटक पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्।  

जिल्ला प्रहरी कार्यालयले संकलन गरेको पर्यटकको तथ्यांकको आधारमा यो सङ्ख्या सार्वजनिक गरिएको हो। प्रहरी कार्यालयले घाँसामा सडक मार्ग र जोमसोम विमानस्थलमा हवाइ मार्गबाट भित्रिने पर्यटकको तथ्यांक राख्दै आएको छ। 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकका अनुसार यो सङ्ख्या अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटक बाहेकको हो।

सडक मार्गबाट चार लाख १४ हजार दुई सय ८० जना र हवाईमार्गबाट ११ हजार छ सय ८४ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक विकले बताए। 

घुम्न आएका आन्तरिक पर्यटक मध्ये तीन लाख ३५ हजार चार सय ६६ सडकमार्गबाट र एक हजार आठ सय ७९ पर्यटक हवाई मार्गबाट मुस्ताङ पुगेका हुन्। घुम्न आएका कुल पर्यटकमध्ये ८८ हजार छ सय १९ जना विदेशी पर्यटक आएका थिए।

विदेशी पर्यटकमा पनि ७८ हजार आठ १४ सडकमार्गबाट र नौ हजार आठ सय पाँच जना हवाईमार्गको प्रयोग गरी मुस्ताङ आएको देखिएको छ। मुस्ताङ भित्रिने विदेशी पर्यटकमा ठूलो सङ्ख्या भारतीयको छ। सात हजार आठ सय आठ पर्यटक सार्क राष्ट्रबाहेकका पर्यटक हुन्। 

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका प्रमुख आकर्षण हुन्। मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायतका स्थान मुस्ताङका धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा परिचित छन्। 

म्याग्दी हुँदै सडक मार्ग, थोराङ्ला पास हुँदै पैदल मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गर्छन्। सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए।

मुस्ताङमा पर्यटकको चहल पहल बढ्नुमा यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्ग विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिनु, डिजिटल मार्केटिङ र सुविधायुक्त होटल खुल्नु लगायतका कारण हुनसक्ने पर्यटन व्यवसायीको अनुमान छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०९:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend