आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

छिचोलियो २ हजार ६ सय ८८ मिटर लामो नागढुंगा सुरुङमार्ग (तस्बिरहरू)

सोमबार, वैशाख ३ २०८१
छिचोलियो २ हजार ६ सय ८८ मिटर लामो नागढुंगा सुरुङमार्ग (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नागढुंगा सुरुङमार्गमा पुगेर 'स्वीच अन' गरेसँगै धादिङ र काठमाडौं दुवैतर्फबाट सुरुङ छिचोलिएको छ। 

धादिङको सिस्नेखोला र काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ। निर्माण सुरु भएकाे ५३ महिनापछि प्रधानमन्त्री दाहालसहितको उपस्थितिमा ‘ब्रेकथ्रु’ गरिएको हो। याेसँगै नेपालकाे पहिलाे यातायात सुरुङ मार्गबाट एक वर्षपछि काठमाडौं भित्रन र बाहिरिन सहज हुनेछ।

 चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरूङमार्ग आयोजनाको मुख्य सुरूङको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ। सोमबार दुई मिटर खनेपछि वारपार छिचोलिएको हो। 

आयोजनाको उद्धार (रेस्क्यु) सुरूङ गत साउनमै छिचोलिसकिएको थियो। सुरुङ ब्रेकथ्रु भएपनि सञ्चालनमा आउन भने झन्डै एकवर्ष कुर्नुपर्ने हुन्छ। आयोजना निर्माण पूरै सकिएपछि मात्रै सवारी साधन चल्नेछन्। आगामी एक वर्षभित्र सबै काम सकेर सवारी साधनका लागि खुला गर्ने आयोजनाले बताएको छ। 

nagdhunga surung breakthrough (2).jpg

सुरूको सम्झौताअनुसार काम थालिएको ४२ महिनाभित्र अर्थात् गत वर्ष बैशाखमै यो आयोजनाको निर्माण पूरा भइसक्नुपर्ने थियो। आयोजना निर्माण सुरु भएको ५३ महिना बितिसकेको छ।

कोरोना महामारी, स्थानीय विवाद तथा सुरूङ खन्ने क्रममा देखिएको प्राविधिक समस्यालगायत कारण आयोजना एक वर्ष पछि धकेलिएको थियो। पछिल्लो पटक थपेको म्याद पनि अबको १० दिनभित्र सकिँदैछ। आयोजनाले अब एक वर्ष म्याद थप गर्न माग गरेको छ।

आयोजनामा अन्डरपास, बक्स कल्भर्ट, एउटा ओभरपास निर्माण सकिएको छ। एउटा फ्लाइओभर निर्माणाधीन अवस्थामा छ। सुरूङको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ।

nagdhunga surung breakthrough (3).jpg

निर्माणको जिम्मा हाजमा एण्डो कर्पोरेसनले पाएको हो। लामो रस्साकस्सीपछि काठमाडौं जोड्न पहिलो सुरुङ मार्ग निर्माण भएपछि नागढुंगा उकालोमा हुने घण्टौँको ट्राफिक जामको समस्या हल हुने बताइएको छ। 

सरकारले १६ अर्ब रुपैयाँ जाइकासँग ऋण लिएर बनाउन थालेको सुरुङ निर्माणमा कुल २२ अर्ब रुपैयाँ खर्च हुने छ। उक्त आयोजनामा उक्त ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ।

nagdhunga surung breakthrough (4).jpg

यसअघि १४ मिटर सुरुङ खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत माग राखेर एक महिना काम ठप्प पारेका थिए। जसका कारण गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने समय तालिका प्रभावित भएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्थानीयसँग नौ बुँदे सहमति भएपछि यही चैत ६ देखि पुनः निर्माण सुरु भएको थियो। अब भने सुरुङको काम सकिएर आज बैशाख ३ सोमबार ब्रेकथ्रु भएको हो।

nagdhunga surung breakthrough (5).jpg

सुरुङपछि मुख्य सडक साढे ७ किमि छोटिनेछ। मुख्य सुरुङको दुरी २ हजार ६ सय ८८ मिटर छ। आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भइसकेको छ। थानकोटमा फ्लाइओभर निर्माणाधीन छ। 

सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल चल्न पाउने छैनन्। 

सम्झौताअनुसार आयोजनाको समयावधि २०८० बैशाखमा सकिएको हो। उक्त समयभित्र काम नसकिएपछि २०८१ बैशाख १३ सम्मलाई म्याद थपिएको छ। २०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो।

nagdhunga surung breakthrough (6).jpg
nagdhunga surung breakthrough (7).jpg
nagdhunga surung breakthrough (9).jpg
nagdhunga surung breakthrough (10).jpg


प्रकाशित : सोमबार, वैशाख ३ २०८११८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend