बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

तीन एयरलाइन्सको प्रतिबद्धता : 'सरकारले सहुलियत दिए पोखरा र भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्छौं'

मंगलबार, वैशाख ४ २०८१
तीन एयरलाइन्सको प्रतिबद्धता : 'सरकारले सहुलियत दिए पोखरा र भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्छौं'

विज एयरले पनि संयुक्त अरब इमिरेट्समा उडानका लागि यी उल्लेखित सुविधाको माग गरेको छ। भैरहवाबाट संयुक्त अरब इमिरेट्स आवुदाबीमा औसत एक सय डलरमा उडान गर्न तयार रहेको उल्लेख गरिएको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय उडान गर्ने तीनवटा एयरलाइन्सले नेपाल सरकारले सहुलियत दिएमा पोखरा र भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। 

जजिरा एयरवेज, एयर एस्ट्रा र विज एयरले पोखरा र भैरहवाबाट उडान गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। 

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमाथि आह्वान गरेअनुसार सुझाव दिँदै यी एयरलाइन्सको नेपालस्थित जीएसए सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिस मार्फत यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। 

भर्खरै सञ्चालनमा आएका यी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि आधारभूत सहुलियत आवश्यक हुने भएकाले सरकारले आगामी वर्षको बजेटमार्फत यसमा विचार गर्न सुझावमा उल्लेख गरिएको छ। 

सरकारले यही वर्षदेखि लागु गरेको टिकटमा लाग्ने मूल्यअभिवृद्धि करलाई तीन वर्षसम्म छुट दिनुपर्ने माग गरिएको छ। 

त्यस्तै ल्याण्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा तीन वर्षसम्म छुट, अन्तर्राष्ट्रिय यात्रुबाट उठाइने विकास शुल्क ३ हजार छुट हुनुपर्ने र यी दुई विमानस्थलबाट भएको आम्दानीमा लाग्ने करमा ३ वर्षसम्म छुट दिन माग गरिएको छ। 

भैरहवा विमानस्थलमा इन्धनको मूल्य काठमाडौंको तुलनामा सस्तो हुनुपर्ने माग गरिएको छ। भैरहवाबाट काठमाडौंमसम्म लाग्ने ढुवानी शुल्क कटाएर भैरहवामा इन्धनको मूल्य तय हुनुपर्ने माग गरिएको छ। 

यति सुविधा दिएपछि काठमाडौंको तुलनामा भैरहवाबाट यात्रा गर्दा सस्तो हुने र त्यसबाट यात्रु पनि आकर्षित हुने र उडान पनि नियमित हुने एयरलाइन्सहरूको दाबी छ। 

जजिरा एयरवेजले भैरहवा विमानस्थल सञ्चालनमा आएदेखि १० महिनासम्म उडान गरेको थियो। सो अवधिमा १२५ उडानबाट १६ हजार यात्रुलाई सेवा दिएको थियो। भैरहवाबाट कुवेत उडान गरेको जजिराले त्यसपछि भने उडान बन्द गरेको थियो। 

त्यस्तै विज एयरले पनि संयुक्त अरब इमिरेट्समा उडानका लागि यी उल्लेखित सुविधाको माग गरेको छ। भैरहवाबाट संयुक्त अरब इमिरेट्स आवुदाबीमा औसत एक सय डलरमा उडान गर्न तयार रहेको उल्लेख गरिएको छ। 

त्यस्तै बंगलादेशको एयर एस्ट्राले पनि पोखरा-ढाका उडानका लागि प्रतिबद्धता जनाएको छ। 

दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएपनि अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको छैन। सरकारको फितलो अग्रसरताका कारणले गर्दा एयरलाइन्स तथा यात्रुको रुचीमा यी विमानस्थल पर्न सकेका छैनन्।

बंगलादेश-पोखरा उडानका लागि एयर एस्ट्राको चासो, अघि बढायो प्रक्रिया बंगलादेश-पोखरा उडानका लागि एयर एस्ट्राको चासो, अघि बढायो प्रक्रिया


प्रकाशित : मंगलबार, वैशाख ४ २०८१०६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend