शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

१२१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय आयोजना निर्माणमा बंगलादेशको चासो

पौने ३ खर्ब लागतको आयोजनाको लगानी सम्मेलनमा सम्झौताको तयारी

सोमबार, वैशाख ३ २०८१
१२१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय आयोजना निर्माणमा बंगलादेशको चासो

भारतलाई प्रतियुनिट औसत आठ रुपैयाँ ४० पैसाका दरमा बिक्री गर्दै आएको नेपाल विद्युत प्राधिकरणले बंगलादेशमा ९ रुपैयाँ हाराहारीमा बिक्री गर्ने सहमति गरेको छ।

काठमाडौं- सरकारले १२१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय जलाशयुक्त जलविद्युत आयोजना अगाडि बढाउने भएको छ।

लगानी बोर्डले बैशाख १६ र १७ गते काठमाडौंमा गर्न लागेको लगानी सम्मेलनमा सोकेसमा राखिने उक्त परियोजनामा सम्झौताको तयारी गरिएको छ। रामेछाप जिल्लामा रहेको उक्त आयोजनाको प्रारम्भिक अध्ययन सम्पन्न गरिसकेको छ। 

२ खर्ब ८९ अर्ब ७७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माण सुरु भएको ७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। बंगलादेशका लगानीकर्ताको चासोमा रहेको उक्त आयोजनामा सम्भवत: बंगलादेशकै लगानीमा निर्माण अगाडि बढ्ने छ।

अरुण ३ मोडालिटीमा बंगालदेशका लगानीकर्ताले उक्त आयोजनामा चासो दिएका छन्। लगानी बोर्डका अनुसार उक्त आयोजना बंगलादेशले बनाउने र विद्युत पनि लैजानेगरी लगानी गर्न खोजेका छन्। सोही कारण तेस्रो लगानी सम्मेलनमा उक्त आयोजना पनि सोकेसमा राखिएको छ। 

लगानी सम्मेलनमा समावेश गर्न लागिएको सबैभन्दा ठूलो आयोजनासमेत खिम्ती ठोसे शिवालय आयोजना हो। आयोजनालाई १७ सय मेगावाटसम्म बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको भएता पनि पूर्ण अध्ययन अझै विद्युत विकासले सम्पन्न गरेको छैन। विभागलेनै उक्त आयोजना लगानी सम्मेलनमा सोकेसमा राख्न लागेको हो। 

दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सीमा भएर बग्ने खिम्ती खोलामा बाँध बाधेर यो आयोजना निर्माण हुनेछ। ठोसे शिवालयमा खिम्ती नदीमा ड्याम बनाएर विद्युत् उत्पादन गर्न सकिने विभागको अनुमान छ। खिम्ती हिम नदी हो। खिम्ती-ठोसे आयोजना बन्दा गर्जाङ देउराली भ्यालीको बस्ती विस्थापित हुनेछ भने अहिले सञ्चालनमा रहेका आयोजना प्रभावित हुनसक्ने देखिएको छ। 

बाँधको उचाइ २३१ मिटर हुनेछ। रामेछापको शिवालय भन्ने स्थानमा ड्याम बनाएर करिब १४ किमी सुरुङमार्ग निर्माण गरेर विद्युत उत्पादन गरिनेछ। जसले ५ र ७ मेगावाटको सञ्चालनमा रहेका दुई जलविद्युत आयोजनासमेत डुब्ने छ। 

नेपाल-बंगलादेशबिच चौथो ऊर्जा सचिवस्तरीय बैठकमा ६८३ मेगावाटको सुनकोसी तेस्रो र खिम्ती शिवालय जलविद्युत आयोजना संयुक्त रुपमा विकास गर्ने विषयमा छलफल गरिएको थियो। बंगलादेशले पहिलो चरणमा खिम्तीलाई अगाडि बढाउन लागेको हो। 

बंगलादेशले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५ सय मेगावाट लैजाने प्रस्ताव गरिसकेको छ। ४० मेगावाट बिजुली आगामी जेठदेखि लैजानेगरी सम्झौता भइसकेको छ। 

बंगलादेशले नेपालसहित छिमेकी मुलुकहरूबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने घोषणा गरेलगत्तै नेपालबाट लगिने बिजुलीको मूल्यसमेत टुंगो लगाइसकेको छ।  नेपालले भारतलाई बिक्री गरेकै मूल्यको हाराहारीमा बंगलादेशमा बिक्री गर्ने सहमति भएको हो।

भारतलाई प्रतियुनिट औसत आठ रुपैयाँ ४० पैसाका दरमा बिक्री गर्दै आएको नेपाल विद्युत प्राधिकरणले बंगलादेशमा ९ रुपैयाँ हाराहारीमा बिक्री गर्ने सहमति गरेको छ। 

यता बंगलादेशले नेपालसहित छिमेकी मुलुकहरूबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने घोषणा गरिसकेको छ। भारतीय कम्पनी जीएमआरमार्फत नेपालबाट ५ सय मेगावाट विद्युत् आयात गर्ने काम लगभग अन्तिम चरणमा पुगेको पनि बंगलादेशी अधिकारीहरूले बताएका छन्। 

बंगलादेशमा २३.२८ मेगावाटको त्रिशूली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् बिक्री गरिँदै छ। उक्त आयोजनाको बिजुली आफ्नो प्रसारण लाइन हुँदै बंगलादेश लैजान भारतले यसअघि नै स्वीकृतिसमेत दिइसकेको छ। 

ऊर्जा व्यापार विकास गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय संयन्त्र बनाउने तयारीसमेत छ। गत महिना बंगलादेशले त्रिपक्षीय संयन्त्र बनाउने प्रस्ताव गरेको थियो। तीन देशबीच अहिले छलफल जारी छ। 


प्रकाशित : सोमबार, वैशाख ३ २०८११२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend