बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

बन्दीपुरमा पर्यटक बढेसँगै होटल व्यवसायी उत्साहित

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २ २०८१
बन्दीपुरमा पर्यटक बढेसँगै होटल व्यवसायी उत्साहित

विभिन्न हिमशृङ्खला, पहाडका टाकुरा, समथर फाँटलगायतका मनोरम दृश्यले बन्दीपुर आउने पर्यटक लोभिने गर्दछन्।

बैशाख- ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा आयोजित तीनदिने सडक खाना महोत्सवले पर्यटक भरिभराउ भएका छन्।

बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर एकाइ र रेवान तनहुँको संयुक्त आयोजनामा शुक्रबारदेखि महोत्सव सुरु भएको हो।

बन्दीपुरमा ११औँ सडक खाना महोत्सवले यहाँका होटल पर्यटकले भरिभराउ हुने गरेको समितिका पूर्वअध्यक्ष बैंश गुरुङले बताए। महोत्सवमा आन्तरिक एवं बाह्य पर्यटकको आवगमन बढेपछि यहाँका होटल व्यवसायीमा उत्साह थपिएको छ। 

अघिल्ला वर्ष कोरोनाका कारण पटकपटक ‘लकडाउन’ हुँदा निराश बनेका यहाँका पर्यटन व्यवसायीमा यतिबेला खुसी छाएको हो। 'बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या अधिक', उनले भने, 'स्वीजरल्याण्ड, जर्मनी र चीनलगायतका देशका बाह्य पर्यटक आएका छन्।'

पर्यटक आउने र जाने प्रक्रिया चलिरहेकाले महोत्सव अवधिभर करिब १० हजार पर्यटकले बन्दीपुर भ्रमण गर्ने अपेक्षा गरिएको उनले बताए।  

होटल व्यवसायीले पर्यटकलाई प्याकेजमा १५ प्रतिशतसम्म छुट दिने गरेका क्षेत्रीय होटल सङ्घकी अध्यक्ष सङ्गीता प्रधानले जानकारी दिइन्।

चितवन, तनहुँ, पोखरा र काठमाडौँ घुम्नेगरी आन्तरिक पर्यटकले रुट मिलाएर आउने गरेका छन्। बन्दीपुरमा करिब ८० जना व्यवसायी सङ्घमा आबद्ध भएका छन्।

महोत्सवले यहाँका होटल तथा घरबाससमेत भरिभराउ हुँदा छुट्टै रौनकता छाएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। 

महोत्सवमा लाखेनाच, टाकटुके, सोरठीलगायतका स्थानीय कला, संस्कृति प्रस्तुत गरी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गरिएको उनले जानकारी दिए। बन्दीपुर तनहुँको सदरमुकाम दमौलीबाट १८ किलोमिटर दूरीमा पर्छ भने पृथ्वीराजमार्गस्थित डुम्रे बजारबाट करिब आठ किलोमिटरको उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ।

उक्त स्थानबाट विभिन्न हिमशृङ्खला, पहाडका टाकुरा, समथर फाँटलगायतका मनोरम दृश्यले यहाँ आउने पर्यटक लोभिने गर्दछन्। रासस


प्रकाशित : आइतबार, वैशाख २ २०८११६:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend