बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बढ्यो

आइतबार, वैशाख २ २०८१
लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बढ्यो

प्रत्येक वर्ष गंगा दसहरा र जनैपूणिर्मा पर्वमा मात्र गोसाइँकुण्डको दर्शनार्थ पुग्ने भक्तजन बाह्रैमहिना आउजाउ गर्न थालका हुन्।

रसुवा- रसुवाको लाङटाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान गर्न आउने पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या बढेको छ।

प्रत्येक वर्ष गंगा दसहरा र जनैपूणिर्मा पर्वमा मात्र गोसाइँकुण्डको दर्शनार्थ पुग्ने भक्तजन बाह्रैमहिना आउजाउ गर्न थालका हुन्।

समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा स्नान तथा पूजाआरधना गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ। वार्षिक २० हजार भक्तजन गोसाइँकुण्ड पुग्ने गर्छन्।

बढ्दो तापक्रमसँगै कुण्डमा जमेको हिउँ पग्लिन थालेपछि स्नानका लागि आउने भक्तजनको सङ्ख्या बढेको हो। हाल दैनिक ३०/४० जना भक्तजन कुण्डमा स्नान गर्न पुगेको रसुवा पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष निसान गजुरेलले जानकारी दिए।

यसैगरी नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ पदमार्ग क्षेत्रमा दैनिक २५/३० जना स्वदेशी तथा विदेशी पर्यटक पुग्न थालेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जका रेञ्जर नीतेन्द्र सिंहका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको आधार क्षेत्रमा भर्खरै सुरु भएको पर्यटकीय मौसममा आठ हजार छ सय ८१ जना आन्तरिक तथा बाह्य पर्यटक पुगिसकेका छन्।

तीमध्ये छ हजार पाँच सय २७ जना विदेशी पर्यटक छन्। दुई सय ३९ पर्यटक सार्क राष्ट्रका छन्। पर्यटकबाट दुई करोड ९९ लाख ९६ हजार आठ सय ५४ रूपैयाँ प्रवेश शुल्कबापत संकलन गरिएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जले स्वदेशीलाई एकसय र सार्क राष्ट्रका नागरिकलाई एक हजार पाँच सय रूपैयाँ प्रवेश शुल्क लिने गरेको छ। अन्य देशका पर्यटकलाई तीन हजार प्रवेश शुल्क लिइन्छ। पर्यटकका लागि दर्जनौँ होटल तथा लज सञ्चालनमा छन्।

लाङटाङ जाने रुटमा पर्ने धुञ्चे, ठूलोभार्खु, ब्रावल, ठूलोस्याफ्रु, पहिरो, बम्बु, स्याफ्रुबेँसी, खाम्जीम, शेर्पागाउँ रिम्चे, लामाहोटल, घोडा तबेला, लाङटाङ मुण्डू हुँदै क्याङ्जेनसम्म सयौँ होटल तथा लज छन्। पर्यटक तथा भक्तजनको आगमन बढेसँगै पैदलमार्गमा सुरक्षाका लागि गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।  

पदयात्रा गर्ने क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको आधार इलाका पर्ने भएकाले यस क्षेत्रमा जनावर पशुपक्षीलाई नचलाउन र फोहोर नगर्न पर्यटकलाई अनुरोध गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले बताए। रासस


प्रकाशित : आइतबार, वैशाख २ २०८११४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend