बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

आइतबार, वैशाख २ २०८१
पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

निकुञ्ज नजिक दुई करोड ५० लाख रूपैयाँको लगानीमा रिसोर्ट निर्माण भएको छभने मध्यवर्ती क्षेत्रको बफर जोनमा  सामुदायिक होमस्टे सञ्चालन गरिएको छ।

वीरगञ्ज- पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि होटल-रिसोर्टजस्ता पर्यटकीय संरचना निर्माणको क्रम बढ्दै गएको छ।

मधेस प्रदेशको एकमात्र सो निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटक आउनेक्रम बढेसँगै निकुञ्ज वरिपरि रिसोर्ट तथा होटल खुल्ने क्रम बढेको हो। आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायीले ठूलो लगानीमा होटल तथा रिसोर्ट खोल्न थालेका हुन्।

केही समयअघिसम्म दुई/तीन वटा मात्र होटल देखिने निकुञ्ज वरिपरि अहिले दुई दर्जनभन्दा बढी होटल तथा रिसोर्ट खुलेका होटल व्यवसायी सुमन श्रेष्ठले बताए। 'निकुञ्जभित्र र बाहिर थुप्रै होटल तथा रिसोर्ट खुलेका छन्', श्रेष्ठले भने, 'अझै खुल्ने क्रम जारी छ।' पर्सा निकुञ्जमा घुम्न आउने पर्यटकलाई लक्ष्य गरेर होटल खुलेका हुन् तर निकुञ्जमा पर्यटक नआउँदा समस्या भएको उनले बताए।

निकुञ्ज नजिक दुई करोड ५० लाख रूपैयाँको लगानीमा रिसोर्ट निर्माण भएको छभने मध्यवर्ती क्षेत्रको बफर जोनमा  सामुदायिक होमस्टे सञ्चालन गरिएको छ। हात्तीको प्रमुख बासस्थान मानिएको निकुञ्जमा आउने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या पनि बढ्दै गएको छ।

पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२औँ निकुञ्जको रुपमा घोषणा गरिएको थियो। पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको लागि खुला गरिएको छ।

प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनी मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम क्रमश: बढेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताए।

चालु आर्थिक वर्षको आठ महिनामा छ १३ जना पर्यटक आएका छन्। निकुञ्ज घुम्न आउने पर्यटकमा सार्क मुलुकका १४ जना, र सार्क बाहिरका एक जना विदेशी पर्यटक रहेको सूचना अधिकारी भगतले बताए। अघिल्लो आवको सोही अवधिमा एक सय ४० जना पर्यटकले मात्र निकुञ्ज भ्रमण गरेका थिए।

कुल ६२७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जंगली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुंगी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन्। रासस


प्रकाशित : आइतबार, वैशाख २ २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend