शनिबार, साउन १२ गते २०८१    
images
images
images

ठूलोखोला जलविद्युत् आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो

images
बिहीबार , चैत २९ २०८०
images
images
ठूलोखोला जलविद्युत् आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो

८५ प्रतिशत भौतिक प्रगति भएको उक्त आयोजनाको आगामी तीन महिनाभित्र पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य छ।

images

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-८ मा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ।

images
images

संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको ठूलोखोलाको सुरमा भन्ने ठाउँमा ४३ दशमलव ३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य सुरुङसँग जोड्ने कार्य गएराति सम्पन्न भएको हो।

images

आयोजनाको सिभिल ठेकेदार साकुरा-पावर त्रिपल एसका आयोजना व्यवस्थापक शिवलाल चालिसेले सर्ज साफ्टको ‘ब्रेक थ्रु’ भएसँगै सुरुङ खन्ने सबै काम सकिएको बताए।

'सर्च साफ्टले सुरुङमा पानीको सतह व्यवस्थापन र चापलाई नियन्त्रण गर्न मद्दत गर्छ', उनले भने, 'आकस्मिक रूपमा विद्युतगृह बन्द गर्नुपर्दा सुरुङबाट आएको पानीको चापलाई सर्च साफ्टले नियन्त्रण र सतह व्यवस्थापन गर्छ।' जलविद्युत् आयोजनाका लागि सर्ज साफ्टको ब्रेक थ्रु हुनुलाई एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको चालिसेले बताए।

images

तीन महिनाअघि जोडिएको फेदीखोलाको बाँधबाट छरीको आउटलेट जोड्ने दुई हजार सात सय मिटर मुख्य सुरुङलाई फिनिसिङ गर्ने काम भइरहेको छ। एक सय चार दशमलव १६ मिटर अग्लो भर्टिकल साफ्ट र चार सय ८३ मिटर पेनस्टक टनेल निर्माण सकिएको छ।

विद्युतगृहबाट आउटलेटको उचाइ तीन सय ५५ मिटर छ। आउटलेटबाट विद्युतगृह जोड्ने एक हजार छ सय ४० मिटर पेनस्टक पाइप लाइनमध्ये सात सय मिटर जडान भइसकेको छ। ८५ प्रतिशत भौतिक प्रगति भएको उक्त आयोजनाको आगामी तीन महिनाभित्र पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य छ।  

फेदीखोलामा बाँध, पानी थिग्राउने पोखरी र छरीमा विद्युतगृह निर्माण अन्तिम चरणमा पुगेको छ। विद्युतगृहको छाना छाएपछि जडान गर्ने जेनेरेटर र टर्वाइनलगायत उपकरण राख्ने ठाउँ तयार बनाइएको छ।

आयोजनाका प्रमुख इन्जिनीयर रवीन्द्र हमालले हिमाली क्षेत्रको प्रतिकूल मौसम, भूगोल र प्राकृतिक विपद्का चुनौतीबीच निर्माणलाई तीव्रता दिइएको बताए। कुल तीन अर्ब ६० करोड रूपैयाँ लागत अनुमान गरिएको आयोजनाको प्रवर्द्धक कम्पनीको नेतृत्व गैरआवासीय नेपाली संघ (एनआरएनए)का अगुवा डा बद्री केसीले गरेका छन्।

नेपाल बैंक लिमिटेडको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकले आयोजनामा लगानी गरेका छन्। यस आयोजनामा गत असारमा आएको बाढीले बाँध नजिकै निर्माणाधीन डिसेन्डर (पानी थिग्राउने पोखरी) मा क्षति पुर्‍याएपछि निर्माण अवधि केही समय धकेलिएको थियो।

आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि आठ किलोमिटर दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन छ। बत्तीसमध्ये १४ वटा टावरको निर्माण सुरु भइसकेको निर्माण कम्पनीले जनाएको छ। 

रघुगङ्गा गाउँपालिका-३ अम्बाङ निर्माण हुन लागेको एक सय ३२ केभी क्षमताको सबस्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा ठूलोखोलाको विद्युत् जोड्ने तयारी गरिएको छ। रासस


प्रकाशित : बिहीबार , चैत २९ २०८०१५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend