शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा छिचोलियो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २९ २०८०
३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा छिचोलियो

तुँदीले राहुघाटमा एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। मंगले राहुघाटको विद्युत्गृह नजिकै बगरखोलाको पानी मिसाएर ४८ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गर्ने अर्को अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छ।

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा छिचोलिएको छ। 

तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका-८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङको बुधबार साँझ 'ब्रेक थ्रु' भएको हो।

आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने एक हजार नौ सय मिटर लामो सुरुङ छेडिएको जानकारी दिए। 

'अडिट २ र मलाङस्थित अडिट ३ जोड्ने एक हजार आठ सय मिटर लामो सुरुङ यसअघिनै जोडिएको थियो', उनले भने, 'बाँधदेखि विद्युत्गृहमा पानी लैजान पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण भएको छ।'

सुरुङ छेडिएपछि प्रवद्र्धक, सिभिल ठेकेदार एसियन इन्फ्रास्ट्रक्चरका प्राविधिक र कर्मचारीहरुले खुशियाली मनाएका छन्। तीन वर्षअघि चार ठाउँबाट सुरुङ निर्माण सुरु भएको थियो। 

बाँध नजिकै पानी थिग्र्याउने पोखरी निर्माण सकिएको छ। मलाङको ‘आउटलेट’देखि चिमखोलाको बगरखोला र राहुघाटको दोभानमा निर्माणाधीन बाँध जोड्ने नौ सय मिटर पाइप लाइन जडान भइरहेको छ। तीन सय मिटर ‘पेनस्टक’ पाइप जोड्न बाँकी छ।

आउटलेट र विद्युत्गृहको उचाइ तीन सय ५० मिटर छ। विद्युत्गृह निर्माणलाई अन्तिमरुप दिनुका साथै ‘इलेक्ट्रोमेकानिकल’ उपकरण जडानको ४० प्रतिशत काम पूरा भएको छ। 

तुँदीले राहुघाटमा एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। मंगले राहुघाटको विद्युत्गृह नजिकै बगरखोलाको पानी मिसाएर ४८ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गर्ने अर्को अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छ। 

करिब रु १४ अर्ब लागतमा विसं २०७७ मा सुरु भएका दुईवटै आयोजनाको ८५ प्रतिशत भौतिक निर्माण पूरा भएको इञ्जिनियर तिमिल्सिनाले बताए। बगरदेखि दग्नाम गाउँको फेदीमा निर्माणाधीन विद्युत्गृह जोड्ने अपर राहुघाटको चार हजार नौ सय मिटर लामो सुरुङ छ महिनाअघि निर्माण भएको थियो। 

अपर राहुघाटको विद्युत्गृह ७५ प्रतिशत र बाँध निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको छ। मंगले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महिनामा विद्युत् उत्पादन गर्ने तयारी छ।

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट ‘सबस्टेसन’देखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन बनाउन थालिएको छ। 

नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने तयारी छ।

राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन्। 

राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। राहुघाटको ७५ प्रतिशत पूर्वाधार निर्माण पूरा भएको छ। रासस


प्रकाशित : बिहीबार , चैत २९ २०८००९:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend