शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

विद्युतीय गाडीको विशेषता राम्रा छन्, भविष्य यही हो

विद्युतीय गाडीको विशेषता राम्रा छन्, भविष्य यही हो

तुलनात्मक रुपमा पेट्रोल गाडी र ईभी गाडीमा खर्चको अन्तर पनि ठूलो छ। घरमा नै चार्ज गर्ने सुविधा भएकाले ठूलो अनावश्यक खर्च हुँदैन।

अहिले मैले बीवाईडी एटो थ्री प्रयोग गरिरहेको छु। २०२३ को अप्रिलदेखि यो गाडी चलाउन थालेको हो। अहिले एक वर्षको समयमा विद्युतीय सवारीबाट म सन्तुष्ट छु। अहिले दोस्रो सर्भिसिङमा सफ्टवेयर अपडेट गराउने कामहरू भइरहेको छ। अरू गाडीमा जस्तो सर्भिसिङ त यसलाई चाहिँदैन।

विद्युतीय गाडीबारे इन्टरनेटमा त हेरिरहेको हो। एटो थ्रीबारे पनि दुई/तीन वर्ष अघिदेखि नै हेरिरहेको थिएँ। नेपालमा उपलब्ध भएपछि त पहिलो चरणमा नै मैले लिइहालेँ। अर्को चलाइरहेको पेट्रोल गाडी बेचेर यो विद्युतीय गाडी लिएँ।

काठमाडौंजस्तो अस्तव्यस्त ट्राफिक जाम हुने ठाउँमा पनि विद्युतीय सवारी चलाउँदा थकान महसुस भएको छैन। राम्रो आरामदायी अनुभव हुन्छ। किनभन्दा गेयर परिवर्तन गर्नेलगायतका झन्झट यसमा हुँदैन। ‘३६० क्यामरा’ लगायतका अरू विशेषता पनि निकै राम्रो छ। अटो ब्रेकिङ सिस्टमको विषय पनि राम्रो छ। त्यसले सुरक्षित बनाउन सहयोग पुग्छ।

मैले एमजी जेडएस ईभी पनि चलाएको छु। विद्युतीय गाडीहरू सहज लागेको छ। सुरुदेखि मैले चलाएका पेट्रोल गाडीहरूसमेत हेर्दा त ८/१० वटा गाडी चलाएको अनुभव भइसक्यो। त्यसमा अहिले विद्युतीय गाडीले दिइरहेका विशेषता राम्रा छन्। यसमा कुनै पनि प्रकारको गुनासोहरू छैनन्। पिकअपलगायत अन्य कुरामा पनि कुनै समस्या पाएको छैन। अहिले मैले अरुलाई पनि विद्युतीय गाडी किन्न सुझाव दिइरहेको हुन्छु।

काठमाडौं उपत्यकामा मात्र होइन अरु सहरहरुमा जानका लागि पनि विद्युतीय गाडीमा समस्या छैन। आवश्यक पूर्वाधारको विकासदेखि लिएर सर्भिस दिनसक्ने ठाउँहरू बनिरहेका छन्। मलाई लाग्छ, विद्युतीय गाडीमा भविष्य निकै राम्रो छ।

सरकारका नीतिहरु स्पष्ट हुने हो भने त विद्युतीय गाडीको विकास अझ राम्रोसँग हुने थियो। विद्युतीय गाडी लिन चाहनेहरूलाई पनि त्यसले प्रेरित गर्ने थियो।

हुन त मैले आफ्नो कामको क्षेत्रका कारण सडकमा धेरै गाडी लिएर हिँड्नु त पर्दैन तर पनि तुलनात्मक रुपमा पेट्रोल गाडी र ईभी गाडीमा खर्चको अन्तर पनि ठूलो छ। घरमा नै चार्ज गर्ने सुविधा भएकाले ठूलो अनावश्यक खर्च हुँदैन। बिजुलीको बिलमा केही सय रुपैयाँ थपिनेमात्र न हो।

बिजुलीबाहेक कुरा गर्दा पनि पहिलो सर्भिसिङमा २५ सय रुपैयाँ तिरेबाहेक अरू केही खर्च भएको छैन।


प्रकाशित : शनिबार, वैशाख १ २०८१००:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend