आइतबार, जेठ ६ गते २०८१    
images
images

बेलायतमा अर्बौं लगानी गरेर नेपाली व्यवसायीले खोलेको भनिएको 'हिमालय जेट' उडान गर्नेमै आशंका

उडानमा विश्वास नभएपछि जेनिथ ट्राभल्सले गर्‍यो जीएसए रद्दको घोषणा

images
मंगलबार, चैत २७ २०८०
images
images
बेलायतमा अर्बौं लगानी गरेर नेपाली व्यवसायीले खोलेको भनिएको 'हिमालय जेट' उडान गर्नेमै आशंका
images
images

काठमाडौं- नेपाली लगानीकर्ताको समेत लगानी रहेको भन्दै प्रचार गरिएको 'हिमालय जेट' उडान हुनेमा आशंका उब्जिएको छ।

images
images
images

गत असोज ११ गते नै नेपाली लगानीकर्ता रहेको हिमालय जेटमार्फत लन्डनको हिथ्रो विमानस्थलबाट काठमाडौं सिधा उडान गर्ने भन्दै प्रचार गरिएको थियो। नेपाली व्यवसायी दिपेन्द्र गुरुङको अर्बौं लगानीमा हिमालय जेट खुलेको भन्दै नेपालमा प्रचार भइरहेको छ। जुन प्रचार अहिलेसम्म पनि जारी छ। 

images

गुरुङले विश्व सुन्दरीलाई जागिर दिएको र सम्झौता गरेकोसमेत प्रचार हुँदै आएको छ। सन् २०२५ सम्म १८ वाइडवडी जहाजमार्फत युरोप अमेरिकालगायत एसियाली मुलुकमा समेत उडान गर्ने भनिएको छ। तर अहिलेसम्म हिमालय जेट लिमिटेडले बेलायतमा कुनै पनि जहाज खरिद गरेको छैन। 

images
images

miss-world-1668135952.jpg

images
images

गत असोजबाटै लन्डन-काठमाडौं उडान गर्ने भनेता पनि अहिलेसम्म उडान अनुमति लिने प्रक्रियासम्म सुरु भएको छैन। तर गत असारमै टिकट बुकिङ खुलेको र एकैदिन १२ हजार टिकट बुक भएका समेत प्रचार एयलाइन्सले गरेको थियो। 

टिकटै बुकिङ भएको एयरलान्सले अहिलेसम्म जहाजसम्म खरिद गरेको छैन। यसकारण हिमालय जेटमाथि नै शंका गर्न थालिएको छ।

नेपाली लगानीकर्ता भनिएका गुरुङको नेपालमा पृष्ठभूमी पनि खासै राम्रो देखिएको छैन। सोही कारण पनि धेरैले अहिले उक्त विषयमा सत्यता नरहेको भन्दै आशंका व्यक्त गरेका छन्। लन्डनकै एक व्यवसायीले उनको प्रचार नै झुटो भएकोसमेत बताएका छन्। 

zenth.jpg

नेपालमा उडान गर्ने भन्दै नेपालको चर्चित जेनिथ ट्राभल्सलाई गत सन् २०२३ को सेप्टेम्बरमा नेपालको लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गरेको थियो। उडान गर्ने मिति नै टुंगो नलागेको र उडानमा विश्वस्त हुन नसकेको भन्दै गत मार्च २४ मा जेनिथ ट्राभल्सले जीएसए नरहेको घोषणा गरेर पत्र नै पठाएको खुलेको छ। 

जेनिथ ट्राभल्स प्रालिले अब हिमालय जेट लिमिटेड, युनाइटेड किङडमको नेपालमा जनरल सेल्स एजेन्ट (जीएसए) नरहेको पत्र नै पठाएको छ। जेनिथ ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक जोय देवानले नेपालका लागि तोकिएको उडानको निश्चितताबारे एयरलाइन्सको विषयमा विश्वस्त हुन नसक्दा जीएसए सम्झौता एकतर्फी रुपमा भंग गरेको पत्र एयरलाइन्सलाई पठाएका हुन्।   

१० वर्षअगाडि काठमाडौंबाट बेलायत हिँडेका गुरुङ

नेपालमा विस २०७० मा दरबारमार्गमा गुरुङले बिइङ ह्युमनको पहिलो स्टोर खोलेका थिए। त्यसको केही वर्षभित्रै उनी विदेशिए। उनलाई नेपालमा कर र राजश्व छलीको समेत आरोप छ। गएको दुईवर्षयता भने बेलायतमा होटल, क्यासिनोमा लगानीका साथै अहिले आएर १८ वटा वाइडवडी जहाजमार्फत विश्वका ३३ सहरमा जहाज उडाउने भन्दै चर्चा गरिएको छ। त्यसका लागि अर्बौं डलर लगानी आवश्यक पर्दछ। 

यसमा केही व्यवसायी मिलेर बेलायतमा कम्पनी खोलेर लगानीका लागि बेलायतका धनाड्यलाई प्रस्ताव गरिएता पनि अहिलेसम्म लगानी नजुटेको बेलायतमा व्यवसाय गरिरहेका एक नेपालीले बताए। ‘उनको गतिविधि बेलायतमा शंकास्पद देखिएको छ, यति ठूलो एयरलाइन्स ल्याउने सम्भावना देखिँदैन,’ ती व्यवसायीले भने। 

Gurung-Family-Boeing-Company-Boeing-Headquarters-Seattle-Himalaya-Jet-4.jpg

गुरुङले भने हिमालय जेट, बेलायती प्रिमियम एयरलाइन्स भन्दै प्रचार गरेका छन्। सामाजिक सञ्जाल र वेभसाइटमा पनि उडानको तयारी गरिएको र बोइङ र एयरबससँग जहाज खरिद गर्न लागेको भन्दै फोटो राखिएका छन्।

विश्वभरका सहरहरूलाई किफायती भाडामा ननस्टप उडानहरूमार्फत जोड्ने भनिएको छ। गत असारमै लन्डन-काठमाडौंको भाडा ८३ हजार रुपैयाँसमेत तोकिएको थियो। 

नेपालमात्रै होइन विश्वका ठूला सहरमा उडाउने भनिएको छ। हिमालय जेटले नेपालसहित भारत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्वीट्‍जरल्यान्ड, जापान, मकाओ, हङकङ, सिंगापुर, युएई, साउदी अरब, अस्ट्रेलियालगायत लामो दूरीका गन्तव्यमा ‘प्रिमियम’ सिधा उडान गर्ने भनेको छ। 

सेप्टेम्बर ४ देखि ५ तारेखसम्मको अवधिमा विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यका लागि ७ हजार ८ सय ५३ प्रि-बुकिङमार्फत कुल १२ हजार ४ सय ४२ यात्रुले टिकट बुकिङ गरेको जनाएको थियो। एयरलाइन्सले यति छोटो अवधिमा टिकट बुकिङमा भएको यो असाधारण बुकिङले नयाँ उद्योगको कीर्तिमान कायम गरेकोसमेत बताएको थियो।

कम्पनीले केही महिनाअगाडि सूचना जारी गर्दै नेपालसहित १७ देशका लागि ७ सय ४३ कर्मचारी माग गरेको थियो। उक्त कम्पनीले यूके, फ्रान्स, जर्मनी, इटाली, स्वीट्‍जरल्याण्ड, स्पेन, अमेरिका पश्चिमी तट, अमेरिका पूर्वी तट, जापान, मकाओ, हङकङ, सिंगापुर, यूएई, साउदी अरब, भारत र अस्ट्रेलियाका लागि कर्मचारीसमेत माग गरेको थियो। 


प्रकाशित : मंगलबार, चैत २७ २०८००६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend