बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पर्सा निकुञ्जमा पर्यटक आगमन बढ्यो, आठ महिनामा भित्रिए ६१३ पर्यटक

आइतबार, चैत २५ २०८०
पर्सा निकुञ्जमा पर्यटक आगमन बढ्यो, आठ महिनामा भित्रिए ६१३ पर्यटक

निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम बढेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताए।

वीरगञ्ज- पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो।

पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले निकुञ्जलाई २०७४ सालमा देशको १२औँ संरक्षित क्षेत्रका रूपमा घोषणा गरेको थियो। पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ।

प्राकृतिक सौन्दर्यसँगै वन्यजन्तुको जैविक विविधताले धनी निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम बढेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताए। 'विगतभन्दा अहिले निकुञ्जमा आन्तरिक तथा  भारतका पर्यटक आउने क्रम बढेको छ', उनले भने, 'बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन्।'

चालु आर्थिक वर्षको आठ महिनामा छ सय १३ जना पर्यटक आएका छन्। निकुञ्ज घुम्न आउने पर्यटकमा सार्क मुलुकका १४ र गैरसार्क राष्ट्रका एकजना विदेशी पर्यटक छन्। अघिल्लो आवको आठ महिनामा एक सय ४० पर्यटकले मात्र निकुञ्जमा भ्रमण गरेका थिए। आव २०७९/८० मा पर्सा राष्ट्रिय निकुञ्जमा ७२ जना  भारतसहित सार्क मुलुक र ३२ जना अन्य देशका पर्यटक गरी एक हजार ६५ जना पर्यटकले भ्रमण गरेका थिए।

निकुञ्जभित्र माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दह पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेका छन्। निकुञ्जभित्र पानीको सहज उपलब्धतासँगै पाटेबाघसहितका  जन्तुको सङ्ख्या पनि वृद्धि भएको छ।

निकुञ्जले गरेको सन् २०२२ को बाघ गणनाअनुसार  पाटेबाघको सङ्ख्या ४१ पुगेको छ। निकुञ्जले प्राकृतिक रूपमा कृत्रिम पोखरी निर्माण गरेपछि वन्यजन्तुको सङ्ख्या बढेको हो।

कुल छ सय २७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र  पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जंगली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुंगी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन्।

निकुञ्जको भ्रमणमा आउने पाहुनाका स्वागतमा निकुञ्जको मध्यवर्ती क्षेत्रको ‘बफर जोन’मा सुनाखरी मध्यवर्ती सामुदायिक घरबास सञ्चालन गरिएको छ ।स्थानीय संस्कृतिअनुसार सुनाखरी सामुदायिक घरबासले विविध परिकार पस्केर पाहुनालाई आकर्षित गर्दै आएको छ। रासस 


प्रकाशित : आइतबार, चैत २५ २०८०१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend