आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

हुलाकी राजमार्ग : ६५ अर्बमा सम्पन्न गर्ने लक्ष्य तर लागत बढेर १ खर्ब ९३ अर्ब पुग्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २३ २०८०
हुलाकी राजमार्ग : ६५ अर्बमा सम्पन्न गर्ने लक्ष्य तर लागत बढेर १ खर्ब ९३ अर्ब पुग्यो

आयोजना सुरु गर्दा ६५ अर्बमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि आयोजनाको लागत र समय बढ्दै जाँदा १ खर्ब ९३ अर्ब बराबर पुगेको छ।

काठमाडौं- सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेका कतिपय आयोजनाको प्रगति निराशाजनक रहेको पाइएको छ।

साधन र स्रोतको अभाव नहुने बताइए पनि तराई-मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको कामले अपेक्षित गति लिन सकेको छैन। 

निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, निर्माण सामग्रीको अभाव, स्थानीयवासीको अवरोध जस्ता कारणले आयोजनाको गति बढनसकेको छैन।

संघीय संसद्को सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा सोही आयोजनाका बारेमा छलफल भएको थियो। हुलाकी सडक आयोजनाका प्रमुख अजयकुमार मुलका अनुसार कुल भौतिक प्रगति ६५ प्रतिशत बराबर छ। आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको सो आयोजनाको म्याद पटक-पटक थप भएको छ। 

पछिल्लो पटक थप भएको म्याद अनुसार आव २०८३/८४ मा मात्रै सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजना सुरु गर्दा ६५ अर्बमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि आयोजनाको लागत र समय बढ्दै जाँदा १ खर्ब ९३ अर्ब बराबर पुगेको छ। आयोजनामा देखिएका समस्या समाधानका गरिएका पहलसमेत सार्थक बन्न सकेको छैन।

आयोजनाको अन्य क्षेत्रमा काम भए पनि चितवन, नवलपरासी, दाङ, बाँकेलगायतका जिल्ल्लाका वन क्षेत्रमा उत्पन्न समस्या समाधान हुन सकेको छैन।

तराई-मधेशको समृद्धिसँग जोडिएको आयोजनामा अपेक्षित प्रगति नभएको र स्रोतको सहज उपलब्धता हुन नसकेको विषयमा बिहीबारको बैठकमा छलफल भएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए। आयोजना सम्पन्न भएपछि एक हजार आठ सय ५७ किलोमिटर सडक निर्माण हुनेछ। 

यस्तै, दुई सय ५० पुल पनि निर्माण भएका छन्। हालसम्म झण्डै एक हजार दुई सय ४३ किलोमिटर सडक कालोपत्र भएको छ। तराई-मधेशका २१ जिल्ला जोड्ने लक्ष्यका साथ सुरु भएको आयोजनालाई कार्यतालिका अनुसार अगाडि बढाउने लक्ष्य राखिएको भए पनि पूरा हुनसकेको छैन। 

समितिले आयोजनाको हालसम्मको सम्मको भौतिक प्रगति र स्रोतको विनियोजनकाबारे अर्थमन्त्रालयसँग जवाफ माग्ने निर्णय गरेको छ।


प्रकाशित : शुक्रबार, चैत २३ २०८००९:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend