आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार

बिहीबार , चैत २२ २०८०
ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार

यस वर्षको दोस्रो सिकार याम सुरु भएसँगै केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन्। केही सिकारी आरक्षभित्र सिकार खेल्न व्यस्त छन् भने केही सिकारी आउने क्रममा छन्। यसका लागि एक सिकारीले करिब २० देखि ३० लाख रूपैयाँसम्म खर्च गर्ने गर्छन्।

गलकोट- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन्। दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ। यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ।

यस वर्षको दोस्रो सिकार याम सुरु भएसँगै केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन्। केही सिकारी आरक्षभित्र सिकार खेल्न व्यस्त छन् भने केही सिकारी आउने क्रममा छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बैशाखका लागि ११ नाउर र सात झारलको सिकार गर्न अनुमति दिएको थियो। ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडलेले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको सिकार अनुमति दिएकामा केही सिकार भइसकेको बताए।

आरक्षले दोस्रो याममा चार बँदेलको सिकारका लागिसमेत अनुमति दिएको छ। कँडेलका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल गत फागुन १८ गतेदेखि बैशाखको दोस्रो सातासम्म सिकार गर्न आरक्ष खुल्ला गरिएको हो। सिकारका लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारी ढोरपाटन आरक्षमा आउनेजाने क्रम चलिरहेको छ।

त्यसमध्ये केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन् भने केही सिकारी आरक्षतर्फ आएका छन्। अन्य सिकारी आउने तयारीमा रहेको कँडेलले बताए। 'यस वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका सिकारीले सिकार खेल्न अनुमति पाएका थिए', कँडेलले भने।

यस वर्ष प्रतिस्प्रर्धामा स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र  उज्बेकिस्तानका एक सिकारी सिकारका लागि छनोट भएका थिए। उनीहरूले बन्दोबस्तीका सामग्री फागुन १८ गतेपछि सिकार आरक्षमा वैधानिकरूपमा आफूले प्राप्त गरेको कोटाका आधारमा सिकार खेल्न सक्नेछन्।

सिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी सिकारीको साथमा खटिने गर्दछन्। सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी तथा सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइएको छ।

विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गर्ने गरेको हुन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार याम असोज-मङ्सिरका लागि आठ नाउर, चार झारल र आठ बँदेलको सिकार खेल्न अनुमति दिएको थियो। विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य सिकारीबीच प्रतिस्पर्धा गराएर सिकार खेल्न अनुमति दिने गरेको छ। 

बोलपत्रमार्फत एउटै नाउर सिकार खेल्न सिकारीले रु आठ लाखदेखि १८-२० लाख रूपैयाँसम्म तिर्ने गरेकोसमेत तथ्यांक छ। सिकारका लागि आरक्षको क्षेत्रलाई सेंग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ। ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज-मङ्सिर) पहिलो याम र (फागुन-बैशाख)मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ।

खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ। यसपटकको सबैभन्दा बढी सिकार घुस्तुङ, दोगाडी र सेङ्ग ब्लकमा हुनेछन्। विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र सिकार खेलिसक्नुपर्ने हुन्छ। जंगलमै बास बिताउने सिकारीले आरक्ष प्रवेश गरेको १५ दिनभित्र सिकार खेल्न नसके रित्तो हात फर्कनुपर्ने नियम छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ। साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ। 

नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक सिकारीले करिब २० देखि ३० लाख रूपैयाँसम्म खर्च गर्ने गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ।

विसं २०४४ मा स्थापना भएको सिकार आरक्ष पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ। सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्म बस्दै आएको छ। सेनाले आरक्षको सुरक्षा दिन थालेपछि चोरी सिकारीमा कमी आएको छ।

आरक्षमा यसपटक नेपाल वाइल्डलाइफ एडेभेन्चर, हिमालय सफारिज, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्पेडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिजमार्फत सिकारीले सिकार खेल्न अनुमति पाएका हुन्। रासस


प्रकाशित : बिहीबार , चैत २२ २०८०१६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend