आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

साँगा-धुलिखेल सडक विस्तार ठप्प

आइतबार, चैत १८ २०८०
साँगा-धुलिखेल सडक विस्तार ठप्प

उच्च अदालत पाटनको उत्प्रेषण आदेशपछि बनेपा-बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत संरचना निर्माण रोकिएको हो।

काभ्रे- अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको सडक विस्तार रोकिएको छ। उच्च अदालत पाटनको उत्प्रेषण आदेशपछि बनेपा-बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत संरचना निर्माण रोकिएको हो।

बनेपा नगरपालिका-६ बुडोलका १३ जना स्थानीयले सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजना कार्यालय भक्तपुरसहित आयोजना प्रमुख राजेन्द्रदास, बनेपास्थित ६ र ७ नं वडा कार्यालयलाई विपक्षी बनाइ गत फागुन २० गते रिट दर्ता गरेका थिए। दर्ता गरिएको रिटमा फागुन २१ गते नै प्रारम्भिक सुनुवाइ भएको थियो।

न्यायाधीशद्वय नृपध्वज निरौला र विदुर कोइरालाको संयुक्त इजलासले निर्माण रोक्न दुई साताअघि उत्प्रेषण आदेश जारी गरेका हुन्। विसं २०१६ मा सडक निर्माणका बेला खेतका लागि पानी निकास गर्न राखिएको ह्यूम पाइपसहितको ढलको स्थानमा हाल नयाँ डिजाइनमा कल्भर्ट निर्माण गरिएको थियो।

उक्त कल्भर्टबाट पानी निकास हुँदा सडकको तल्लो क्षेत्रमा क्षति पुगेको जनाउँदै स्थानीयवासीले गत फागुनमा रिट दर्ता गरेका थिए। आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालका अनुसार अदालतको उत्प्रेषण आदेशपछि उक्त क्षेत्रमा निर्माणाधीन संरचनाको कार्य रोकिएको छ। 

कल्भर्टलगायत निर्माणाधीन संरचनाको कामा रोकिएपछि नजिकैबाट बनाइएको वैकल्पिक सडकमा हिलो र धुलोका कारण सवारी आवागमनमा निकै सकस भएको छ भने बुडोल क्षेत्रमा दर्जनौँ दुर्घटना समेत भएको छ। पानी परेका बेला सवारी फसेर सडक जाम हुने अवस्था आएको छ। 

तीन वर्षमा सक्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार सुरु गरिएको थियो। छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट धुलिखेलसम्मको आठ दशमलव चार किमी सडकखण्ड निर्माण सुरु भएको थियो। सो सडक खण्ड निर्माणका लागि चार अर्ब पाँच करोड ६४ लाख रूपैयाँमा ठेक्का लागेको थियो। 

यसैबीच अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको धुलिखेल-खावा चार किमी सडकखण्ड विस्तारको म्याद सोमबार सकिँदैछ। उक्त सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिना अर्थात् यही चैत १९ गते सम्पन्न गर्ने गरी २०७९ जेठ २० गते गौरी पार्वती निर्माण सेवा प्रालिसँग सम्झौता गरिएको थियो।

आयोजनाको समयसी सकिँदा एक तिहाई काम पनि नभएको कार्यालयले जनाएको छ। २२ महिनामा आयोजनाको २० प्रतिशत मात्रै काम भएको जनाउँदै कार्यालयले समय थपेर सम्पन्न गराउने योजना बनाएको छ। उक्त सडक स्तरोन्नतिका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय एक रूपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल-खावा सडकखण्डलाई १२ मिटर फराकिलो बनाइ कालोपत्र गर्न लागिएको थियो। रासस


प्रकाशित : आइतबार, चैत १८ २०८०१४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend