सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टेस्ला मोडल थ्रीसँग प्रतिस्पर्धा गर्नेगरी आयो साओमी एसयू सेभेन ईभी

२७ मिनेटमा ५० हजार बुकिङ

आइतबार, चैत १८ २०८०
टेस्ला मोडल थ्रीसँग प्रतिस्पर्धा गर्नेगरी आयो साओमी एसयू सेभेन ईभी

म्याक्समा १ सय १ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको ब्याट्री प्याक रहेको छ। डुवल मोटर रहेको यो कारले ६ सय ६३ एचपी पावर दिन्छ। यसले एक पटकको फुल चार्जमा ८ सय किलोमिटर रेन्ज दिनेछ।

काठमाडौं- चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी साओमीले पहिलो विद्युतीय कार सार्वजनिक गरेको छ। कम्पनीले सेडान सेगमेन्टमा पूर्ण विद्युतीय कार चीनमा पहिलो पटक सार्वजनिक गरेको हो। 

तीन भेरियन्टमा उपलब्ध एसयू सेभेनको सुरुवाती मूल्य २ लाख १५ हजार ९ सय युआन तोकिएको छ। अप्रिलको अन्त्यबाट उपभोक्तालाई हस्तान्तरण गर्ने बताएको साओमीले यो कार सुरुमा चीनका २९ सहरमा उपलब्ध हुनेछ। 

अटोमोबाइल उद्योगमा साओमीको प्रवेशलाई उसको व्यवसायको अर्को सफलता मानिएको छ। विद्युतीय सवारीप्रति संसार नै लम्किरहेका बेला साओमीले यो सेगमेन्टमा आफूलाई उभ्याएको हो। 

साओमी एसयू सेभेन ईभी ४९ सय ९७ एमएम लामो, १९ सय ६३ एमएम चौडा र १४ सय ५५ एमएम अग्लो रहेको छ। यो कारको ह्वील बेस ३ हजार एमएम र ५ सय १७ लिटर बुटस्पेस रहेको छ। यता टेस्ला मोडल थ्री ४७ सय २० एमएम लामो, १८ सय ४८ एमएम चौडा र १४ सय ४२ एमएम अग्लो रहेको छ। त्यसैले पनि साओमी एसयू सेभेनलाई टेस्ला मोडल थ्रीको कडा प्रतिस्पर्धीका रुपमा लिइएको छ। 

साओमी एसयू सेभेन स्ट्यान्डर्ड, प्रो र म्याक्स गरी तीन भेरियन्टमा उपलब्ध छ। स्ट्यान्डर्डमा ७३.६ किलोवाट आवरको बीवाईडी निर्मित एलएफपी ब्लेड ब्याट्री प्रयोग गरिएको छ। यो कारले एक पटकको फुल  चार्जमा ७ सय किलोमिटर रेन्ज दिने छ। 

प्रो मोडलमा ९४.४ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्रयोग गरिएको छ भने यसले एक पटकको फुल चार्जमा ८ सय ३० किलोमिटर रेन्ज दिनेछ। त्यस्तै म्याक्समा १ सय १ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको ब्याट्री प्याक रहेको छ। डुवल मोटर रहेको यो कारले ६ सय ६३ एचपी पावर दिन्छ। यसले एक पटकको फुल चार्जमा ८ सय किलोमिटर रेन्ज दिनेछ। 

यो कार सार्वजनिक भएको २७ मिनेटमै ५० हजार वटा बुकिङ भएको दाबी कम्पनीले गरेको छ। बुकिङ खुलेको सुरुको ४ मिनेटमा १० हजार र अर्को ३ मिनेटमा २० हजार बुकिङ पुगेको थियो। कुल २७ मिनेटमा ५० हजार बुकिङ पुगेको कम्पनीको भनाइ छ। 


प्रकाशित : आइतबार, चैत १८ २०८०११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend