आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कालीगण्डकी करिडोर : बेगखोलाको पुल लक्ष्यअघि नै निर्माण

शनिबार, चैत १७ २०८०
कालीगण्डकी करिडोर : बेगखोलाको पुल लक्ष्यअघि नै निर्माण
फाइल तस्बिर

७० मिटर लामो पुल निर्माणका लागि २०७८ असार २९ मा आठ करोड ३० लाख ६८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।

म्याग्दी- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा लक्ष्यअघि नै मोटर चल्ने पक्की पुल निर्माण भएको छ।

ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र र अधुरा बनिरहेका अवस्थामा सडक विभागको पुल महाशाखामार्फत सञ्चालित बेगखोला मोटर गुड्ने पुल लक्ष्यअघि नै सम्पन्न भएको हो।

७० मिटर लामो पुल निर्माणका लागि २०७८ असार २९ गते बीओकेआई/हिमालयन जेभी र सडक विभागको पुल महाशाखाको पश्चिम सेक्टर कार्यालयबीच आठ करोड ३० लाख ६८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।

हिमालयन इञ्जिनियरिङका इञ्जिनियर आभास सापकोटाले २०८१ असार मसान्तसम्मको ठेक्काको म्याद भए पनि हस्तान्तरण गर्ने तयारीमा रहेको जानकारी दिए। गत असोजदेखि नै उक्त पुलमा सवारीसाधन वारपार गर्न थालेका भन्दै उनले तीन सय ५० मिटर लामो पहुँचमार्ग निर्माण सकिएको बताए। कालोपत्र गरेर आगामी वैशाख १५ गतेभित्र हस्तान्तरण गर्ने तयारीमा रहेको इञ्जिनियर सापकोटाले बताए।

पुल महाशाखाको पश्चिम सेक्टरका इञ्जिनियर आशिक रिजालका अनुसार ११ मिटर चौडाइ भएको उक्त पुल डिजाइन एण्ड विल्ड (निर्माण व्यवसायीले आफै डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको थियो।

डिजाइन तयार पार्न एक वर्ष लागे पनि आर्थिकरुपमा असहज अवस्थाका बाबजुद पर्याप्त निर्माण सामग्री व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर लक्ष्यअघि नै पुल निर्माण गर्न सफल भएको इञ्जिनियर सापकोटाले बताए।

विसं २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा एक जनाको ज्यान जानुका साथै ११ घर, बेलिब्रिज र झोलुंगे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। रघुगंगा गाउँपालिका-१ का वडा सदस्य बलमान गौचनले पुल बनेसँगै बेगखोलामा बाढी आएको अवस्थामा यातायात आवतजावत बन्द हुने र जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या हटेको बताए।

पुल महाशाखाले बेनी-जोमसोम-कोरला सडकअन्तर्गत महभिर र पोखरबगरस्थित कालीगण्डकीमा यसअघि दुई मोटर गुड्ने पुल निर्माण गरेको छ। १९ करोड रूपैयाँको लागतमा महभिरमा ८० मिटर र पोखरेबगरमा ७० मिटर लामो पुल निर्माण गरिएका हुन्। गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा १३ पक्की पुल र तीन बेलीब्रिज निर्माण गरिएका छन्। ६ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन्।

दुई सय दुई किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत सेतोखोलामा थप एक मोटर गुड्ने पुल निर्माण सुरु भएको आयोजना प्रमुख धु्रव झाले बताए। यो सडकले गण्डकी प्रदेशको पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : शनिबार, चैत १७ २०८०१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend