आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

धुलिखेल-खावा सडक : समयावधि पाँचदिन, काम २० प्रतिशतमात्र

बुधबार, चैत १४ २०८०
धुलिखेल-खावा सडक : समयावधि पाँचदिन, काम २० प्रतिशतमात्र

आयोजनाको समय सीमा पाँच दिन बाँकी रहँदा एक तिहाइ काम पनि भएको छैन। करिब २२ महिनाको अवधिमा जम्मा सडक फराकिलो बनाउने मात्रै काम अर्थात् आयोजनाको २० प्रतिशत मात्रै काम भएको छ।

काभ्रेपलाञ्चोक- अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा सडकखण्ड विस्तारको कामको समयसीमा पाँच दिन बाँकी रहेको छ। उक्त सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिना अर्थात् यही चैत १९ गते सम्पन्न गर्ने गरी २०७९ जेठ २० गते निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो।

आयोजनाको समय सीमा पाँच दिन बाँकी रहँदा एक तिहाइ काम पनि नभएको कार्यालयले जनाएको छ। करिब २२ महिनाको अवधिमा जम्मा सडक फराकिलो बनाउने मात्रै काम अर्थात् आयोजनाको २० प्रतिशत मात्रै काम भएको जनाउँदै कार्यालयले समय थपेर सम्पन्न गराउने योजना बनाएको छ। उक्त चार किलोमिटर सडक स्तरोन्नतिका लागि २० करोड १९ लाख ४६ हजार पाँचसय एक रूपैयाँमा निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर मेघराज मरासिनीले आयोजना अलपत्र राख्न नहुने भएकाले समय थपेर सम्पन्न गराउने योजना बनाएको बताए। उनका अनुसार समय सीमाको दुई महिनाअघि ठेक्का तोड्ने प्रक्रियामा समेत जान लागिएकामा विभिन्न चरणका छलफलपछि आयोजना सम्पन्न गर्नेतर्फ लाग्ने निष्कर्ष निकालिएको हो।

सडक विस्तारको काममा ढिलाइ भएपछि जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम गत फागुन ११ गते सडकमै आमरण अनशन बसेका थिए। गौतमले आमरण अनशन सुरु गरेको करिब २९ घण्टापछि रोकिएको चार किलोमिटर सो सडकखण्ड विस्तार कार्य थाल्ने पाँचबुँदे लिखित प्रतिबद्धता गरिएको थियो। त्यसयता सो प्रतिबद्धता कार्यान्वयन भएको देखिएको छैन। 

पाँच बुँदामा भएको सहमतिमा गत फागुन १५ गतेभित्र करिब एक सय जनशक्ति फिल्डमा खटाउने, चार एक्साभेटर, सात टिपरलगायत निर्माण सामग्री परिचालन गरी निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउने, उक्त कार्य अघि नबढे सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रियामा अघि बढ्ने, ठेक्का तोड्न निर्माण व्यवसायीको सहमति रहने र निर्माण व्यवसायी कुनै उजुरबाजुरमा नजाने उल्लेख गरिएको छ।

यस्तै चैत १९ गतेसम्ममा दुई किमी सडक कालोपत्र गरी बाँकी खण्डको काम पनि तत्काल सुरु गर्ने, कामलाई निरन्तरता दिएपछि कामको गति र प्रगति सन्तोषजनक नभए ठेक्का तोड्न सडक डिभिजन कार्यालयले प्रक्रिया अघि बढाउने सहमति भएको थियो। सडक निर्माणको कामले गति नदिँदा भत्किएको सडकमा दुर्घटना हुँदा सयौँ यात्री घाइते भइसकेका छन्। केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल-खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो। 

सडकमा गुड्ने मालवाहक सवारी साधनको भारवहन क्षमतालाई दृष्टिगत गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल्ट कालोपत्र गर्ने योजना थियो। जिल्लाको पूर्वी-उत्तरी क्षेत्र अर्थात् उत्तरी नाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ। यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ। रासस


प्रकाशित : बुधबार, चैत १४ २०८०१६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend