आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

३ अर्ब ६६ करोड लागतको महाकाली पुल निर्माणमा रकम अभाव नभए ६ महिनाभित्र काम सकिने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १४ २०८०
३ अर्ब ६६ करोड लागतको महाकाली पुल निर्माणमा रकम अभाव नभए ६ महिनाभित्र काम सकिने

आठ दशमलव छ किलोमिटर छ लेनको पहुँचमार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्र गर्न पनि बाँकी छ।

कञ्चनपुर- महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ। निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाएको छ।

विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै आठ दशमलव छ किलोमिटर छ लेन सडक निर्माणको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ।

निर्माण कम्पनी कुमार-सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापत आठ करोड ५० लाख रकम हालै कम्पनीलाई प्राप्त भएको जानकारी दिए।

इन्जिनियर पाण्डेयले पुलसँगै निर्माण हुने पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागमा पुर्‍याउने प्रक्रियामा रहेको जानकारी दिए।

'भेरिएसनका कारण अझै १५ करोड बक्यौता छ', उनले भने, ' गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ।' उनले आठ दशमलव छ किलोमिटर छ लेनको पहुँचमार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए।

'रकम अभावलगायतका कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ', इन्जिनियर पाण्डेयले भने। पुलको लागत तीन अर्ब ६६ करोड रुपैयाँ हो। 

पुलको दुवैतर्फ बाँध बाँधेर पर्यटकीयस्थल हुनेगरी पोखरी निर्माण गरिएको छ। पुलको उत्तरतर्फ एक वर्गकिलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन्। रासस


प्रकाशित : बुधबार, चैत १४ २०८००९:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend