सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

१२६ मेगावाटको तल्लो सेतीका लागि जग्गा प्राप्त गर्न स्वीकृति, लगानीका लागि जाइका र एडीबीको चासो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ११ २०८०
१२६ मेगावाटको तल्लो सेतीका लागि जग्गा प्राप्त गर्न स्वीकृति, लगानीका लागि जाइका र एडीबीको चासो

तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ। आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो।

तनहुँ- एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एक सय २६ मेगावाटको तल्लो सेती आयोजनाका लागि जग्गा प्राप्त गर्न सरकारले स्वीकृति प्रदान गरेको छ। 

सरकारले आयोजनाका लागि तनहुँमा करिब पाँच सय ७७ र चितवनमा करिब ३२ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको हो। केही दिन अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा प्राप्त गर्न स्वीकृति दिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। 

लिमिडेटले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा उक्त प्रस्ताव गरेको थियो। सरकारले जग्गा प्राप्तका लागि स्वीकृति प्रदान गरेसँगै आयोजनाका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन सहयोग पुग्ने श्रेष्ठले बताए। 

उनले भने, 'विविध कारणबस जग्गा प्राप्त गर्नका लागि स्वीकृति पाउन ढिलाइ भइरहेको थियो, सरकारको निर्णयसँगै अब जग्गा अधिग्रहणको कामलाई अगाडि बढाइनेछ।'

आयोजनाका प्रमुख श्यामजी भण्डारीले अब प्रारम्भिक अधिकृत तोकेर काम अगाडि बढाइने जानकारी दिए। उनले भने, 'सरकारको निर्णयसँगै जलाशय क्षेत्रका लागि आवश्यक जग्गा अधिग्रहणको काम अगाडि बढाउन सहयोग पुग्नेछ।'

तल्लो सेतीको अडिट सुरुङ निर्माणका लागि हालैमात्र सम्झौता भएको छ। तल्लो सेती जलविद्युत् आयोजनाको तीन सय ७५ मिटर लामो अनुसन्धानात्मक अडिट सुरुङ निर्माणका लागि आरके इञ्जिनियरिङ एण्ड एशोसिएटससँग खरिद सम्झौतामा सम्झौता गरिएको छ।

आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षणका लागि अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न लागिएको भण्डारीको भनाइ छ। अनुसन्धानका लागि निर्माण गरिने उक्त सुरुङपछि अन्य कामका लागि प्रयोगमा आउने भण्डारीको भनाइ छ। डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने भण्डारीले बताए। 

तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एशियाली विकास बैंक (एडीबी) ले लगानीका लागि चासो दिएको छ। 'दुवै दाताहरु यसका लागि सकारात्मक छन्', भण्डारीले भने। 

उक्त आयोजनाको लागत २५ अर्ब रुपैयाँ अनुमान गरिएको छ। तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो।

तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ। आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो। परामर्शदाताले पेस गरेको विस्तृत परियोजना प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते प्रतिवेदन बुझाइसकेको छ। 

कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ। साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब तीन दशमलव पाँच मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजजात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत/निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो।

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका-६ र देवघाट गाउँपालिका-३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ।

पानीको प्रवाहलाई देवघाट गाउँपालिका-३ र ४ हुँदै छ दशमलव आठ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ। 

आयोजनाबाट बन्दीपुर-६, व्यास-१३ र १४, देवघाट-२, ३ र ४, ऋषिङ गाउँपालिका-१ र ३, आँबुखैरेनी-५ र ६ तथा भरतपुर महानगरपालिका-२९ का केही भाग प्रभावित हुनेछ। 

देवघाट वडा नं ४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ। उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली-नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ। यसका लागि करिब दुई किमी प्रसारण लाइनको निर्माण गर्नुपर्छ। 

अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किमी लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ। आयोजनाबाट वार्षिकरुपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुने जनाइएको छ। रासस


प्रकाशित : आइतबार, चैत ११ २०८०१६:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend