आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

जापानको दुई अर्ब सहयोगमा धमाधम पुनर्निर्माण हुँदै देशकै पुरानो नहर, दुई वर्षभित्र सकिने

बिहीबार , चैत ८ २०८०
जापानको दुई अर्ब सहयोगमा धमाधम पुनर्निर्माण हुँदै देशकै पुरानो नहर, दुई वर्षभित्र सकिने

मर्मतको काम जापानी कम्पनी हाज्माले पाएको छ। आगामी दुई वर्षभित्रमा मर्मतसम्भारका सबै पूरा गर्नुपर्ने सम्झौता भएको छ।

राजविराज- मर्मतसम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनःनिर्माण सुरु भएको छ।

जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहरको पुनःनिर्माणका लागि दुई अर्ब रूपैयाँ आर्थिक सहयोग गरेपछि मर्मतसम्भार सुरु भएको हो। चन्द्र नहरअन्तर्गत कञ्चनरुप नगरपालिका-१० स्थित बदगामा र तिरहुत गाउँपालिकाको बुधेवामा मर्मतसम्भार थालिएको चन्द्र नहर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण यादवले बताए।

चन्द्रनहरअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको फतेपुरदेखि महादेवा गाउँपालिका पकरीस्थित खाँडो खोलासम्म तत्काल ३२ वटा नयाँ ‘साइफन’को पुनःनिर्माण गर्ने गरी काम थालिएको उनले बताए।

मर्मतको काम जापानी कम्पनी हाज्माले पाएको छ। आगामी दुई वर्षभित्रमा मर्मतसम्भारका सबै काम पूरा गर्नुपर्ने सम्झौता भएको छ। जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले ३१ किलोमिटर नहरको सुरु बिन्दुदेखि अन्त्यसम्मको ३२ वटा नयाँ पुल र साइफन निर्माण गर्न हाज्मासँग सम्झौता गरेको अध्यक्ष यादवले बताए।

बर्खायाममा बाढीबाट विभिन्न ठाउँमा बर्सेनि नहर भत्किएका कारण मर्मत गर्नुपरेको हो। समयमा मर्मत नहुँदा सिँचाइ सुविधाबाट किसान वञ्चित भएका थिए। २०७३ को बाढीले सुब्बाटोल, बुधेवा, महुली, गंगाजली, मैनाकडेरी, बढहरालगायत एक दर्जन स्थानमा नहर भत्किएको थियो। नहर मर्मतका लागि अहिलेसम्म नौ करोड रूपैयाँ खर्च गरिएको कोशी पम्प चन्द्र नहर डिभिजन कार्यालय सप्तरीले जनाएको छ।

जिल्लाको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, अकवरपुर, महादेवा, सोनरा, पकरी, कजौली, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरिया, गाउँमा चन्द्र नहरको आशामा हजारौँ हेक्टर जग्गामा गहुँ र धान खेती लगाउने गरेकामा प्रत्येक हिउँद र बर्खायाममा पानी नपाएका कारण किसानले चर्को मूल्यमा डिजल तथा विद्युतीय प्रणालीबाट सिँचाइ व्यवस्था मिलाउन बाध्य रहेको महदेवा गाउँपालिका पकरीका किसान महेन्द्रप्रसाद यादवले बताए।

चन्द्रनहरको सञ्जाल फराकिलो रहेको भए तापनि विगत ३० वर्षदेखि उक्त नहरमा खेतीको समयमा पानी नआएको कारण ‘स्यालो ट्युबवेल’ तथा आकासे पानीका भरमा यस क्षेत्रका किसानले खेती गर्दै आएका थिए। रासस


प्रकाशित : बिहीबार , चैत ८ २०८०११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend