सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

यो वर्ष २८ लाख सवारी बिक्री गर्ने चांगानको लक्ष्य, ४ वर्षमा ३० नयाँ ईभी कार सार्वजनिक गर्ने

बुधबार, चैत ७ २०८०
यो वर्ष २८ लाख सवारी बिक्री गर्ने चांगानको लक्ष्य, ४ वर्षमा ३० नयाँ ईभी कार सार्वजनिक गर्ने

यसै वर्ष चांगानले दक्षिणपूर्वी एसियामा अवतार ११, चांगान लुमिन र सीडी७०१ लगायत सात वटा नयाँ न्यू इनर्जी भेहिकल ल्याउने योजना बनाएको छ।

काठमाडौं- चिनियाँ अटो निर्माता कम्पनी चांगानले यो वर्ष २८ लाख वटा सवारी बिक्री गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य गत वर्षको तुलनामा ९.७ प्रतिशतले बढी हो। 

चीन सरकारको स्वामित्वमा रहेको चांगानको बिक्री दर पछिल्ला वर्षहरुमा निरन्तर रुपमा वृद्धि भइरहेको छ। सन् २०२० मा २० लाख वटा सवारी बेचेको चांगानले गत वर्ष न्यू इनर्जी भेहिकल र चीन बाहिरको बिक्रीको मद्दतले २५ लाख ५० हजार वटा गाडी डेलिभरी गरेको थियो। 

यो वर्ष ईभीलगायत न्यू इनर्जी भेहिकलको बिक्री लक्ष्य सात लाख ५० हजार वटा हुने छ जुन गत वर्षको भन्दा ५५.९ प्रतिशतले बढी हो।

चांगानले सन् २०२५ मा ३५ लाखदेखि ४० लाखको बीचमा गाडी बिक्री हुने आँकलन गरेको छ। यो सन् २०२४ को तुलनामा ३२ प्रतिशत बढी हुनेछ। 

६ वर्षमा ५० लाख वटाको लक्ष्य

चांगानले सन् २०२४ र २०२५ लाई ‘महत्वपूर्ण अवसरको समयावधी’ भनेको छ। चांगानले सन् २०३० सम्मा विश्वको फस्र्ट क्लास कार निर्मातामा दरिने लक्ष्य लिएको छ। त्यो बेला उसको विश्वभरको बिक्री वार्षिक ५० लाख वटाभन्दा बढी हुनेछ। 

चांगानले अहिले टेक्नोलोजी जायन्ट हुवावे र ब्याट्री निर्माता सीएटीएलसँग साझेदारी गरेर फ्युचरिस्टिक गाडी निर्माण गरिरहेको छ। ‘न्यूकुल’ नाम दिइएको यो नयाँ ज्वाइन्ट भेन्चरले स्मार्ट क्याबिनदेखि अटोनमस ड्राइभिङलगायत सात क्षेत्रमा काम गर्नेछ।

२०२८ सम्ममा ३० नयाँ न्यू इनर्जी मोडल

changan 1.PNG

चांगानले यसै वर्ष पहिलो एक्सटेन्डेड रेन्ज पिकअप ट्रक, नयाँ चांगान हन्टरको डेलिभरि सुरु गर्दैछ। साथै केही दिनअघि डिपलको अफरोड एसयूभी जी३१८ पनि सार्वजनिक गरेको छ।

यसलाई दोस्रो क्वार्टरबाट बिक्री गर्ने योजना कम्पनीले बनाएको छ। त्यसैगरी दोस्रो क्वार्टरमै आफ्नो सब ब्रान्ड अवतारको दोस्रो एसयूभी ई१५, डिपल सी८५७ र काइसिनको जी३९३ पनि औपाचारिक रुपमा सार्वजनिक गर्नेछ। 

चौथो क्वार्टरमा चांगानले काइसिन ई०७, अबतारको मिडसाइज सेडान ई१६, कियुआनको सी७९८ र चांगान माज्दाको जे९०ए पनि लाइनअपमा आइसक्ने कम्पनीले जनाएको छ। चांगानले सन् २०२८ सम्ममा थप ३० वटा न्यू इनर्जी भेहिकल सार्वजनिक गरिसक्ने दाबी गरेको छ।  

अबको लक्ष्य दक्षिणपूर्वी एसिया र युरोप

चीनबाहिर चांगानले यसै वर्ष दक्षिणपूर्वी एसियालाई लक्षित गरी भास्ट ओसियन प्लान अघि सारेको छ। यसअन्तर्ग कम्पनीले थाइल्यान्डमा नयाँ प्लान्ट स्थापना गरेको छ जसले २०२५ को सुरुदेखि उत्पादन थाल्नेछ।

यसै वर्ष चांगानले दक्षिणपूर्वी एसियामा अवतार ११, चांगान लुमिन र सीडी७०१ लगायत सात वटा नयाँ न्यू इनर्जी भेहिकल ल्याउने योजना बनाएको छ। 

त्यसैगरी युरोपमा अवतार ११, डिपल एस७ र सी३२७ पनि सार्वजनिक गर्ने लक्ष्य लिएको छ जसको अनुमानित निर्यात पाँच लाख वटा रहेको छ।

थाइल्यान्डमा चांगानले सुरु गर्न लागेको प्लान्टको वार्षिक उत्पादन क्षमता एक लाख वटा रहेको छ जुन केही वर्षमा दुई लाख वटामा विस्तार हुने कम्पनीको भनाइ छ। त्यहाँबाट डिपलका इन्टेलिजेन्ट ईभी र सी८५७ र अन्य मोडेलहरु पनि उत्पादन हुनेछन्। 


प्रकाशित : बुधबार, चैत ७ २०८०१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend