आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नारायणगढ-मुग्लिन सडकखण्डका थप तीन पुल यसैसाता सञ्चालनमा आउने

मंगलबार, चैत ६ २०८०
नारायणगढ-मुग्लिन सडकखण्डका थप तीन पुल यसैसाता सञ्चालनमा आउने

हाल भित्तो काटेर झारिएको तुइन पुलको जग निर्माण भइरहेको छ। मुग्लिन नजिकको खरहे पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ।

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन्। जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो।

नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ पुलको पहुँचमार्गमा कालोपत्रको अन्तिम तह बाँकी छ। उनले भने, 'आज र भोलि कालोपत्र सकिन्छ। पर्सीबाट पुल सञ्चालनको तयारी गरेका छौँ।'

हाल भित्तो काटेर झारिएको तुइन पुलको जग निर्माण भइरहेको छ। मुग्लिन नजिकको खरहे पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ। यो पुलको पहुँच सडकमा ‘वाल’ उठाएर कालोपत्र र रङरोगको काम बाँकी छ। उनका अनुसार छ महिनाभित्रमा यी दुवै पुल सम्पन्न हुनेछन्।

काली र नाम्ची दुई वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए। यी पुलको पहुँचमार्गमा नाला, कालोपत्र र रङरोगनको काम मात्रै बाँकी रहेको आचार्यले जानकारी दिए।

उनका अनुसार यसअघि सो सडकखण्डमा १२ वटा पुल सञ्चालनमा आइसकेका छन्। सडकखण्डमा कुल १९ पुल छन्। तीमध्ये चार वटा पहिले नै निर्माण भएका थिए।

यस सडकखण्डमा विसं २०७६ चैतदेखि विश्व बैंकको सहयोगमा १५ वटा पुल निर्माण थालिएको थिए। सडक चौडा भएपछि पुल निर्माण गरिएको हो। सडक विस्तार गरी नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ। राजधानी प्रवेशको ‘लाइफलाइन’का रुपमा यो सडकलाई लिने गरिन्छ। रासस


प्रकाशित : मंगलबार, चैत ६ २०८०१३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend